नेपाल–चीन सीमास्थित कोरला नाका व्यावसायिक रूपमा सक्रिय बनेसँगै मुस्ताङ भन्सार कार्यालयले उल्लेख्य वित्तीय सफलता हासिल गरेको छ । गत ३० भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यस नाकाबाट १० पुससम्मको छोटो अवधिमै ११ अर्ब १ करोड ९५ लाख रुपैयाँ बराबरको निकासी–पैठारी भएको छ ।
आयात र निर्यातको अवस्था मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काका अनुसार यस अवधिमा चीनबाट १० अर्ब ८२ करोड ९८ लाख रुपैयाँ बराबरका मालवस्तु नेपाल भित्रिएका छन् । यसैगरी, नेपालबाट हस्तकला लगायतका विभिन्न स्वदेशी उत्पादन १८ करोड ९७ लाख ७८ हजार रुपैयाँ बराबरको चीनतर्फ निकासी भएको छ । आयात र निर्यातको यो बढ्दो क्रमले कोरला नाका उत्तरी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र बन्ने सङ्केत गरेको छ ।
विद्युतीय सवारीको ओइरो नेपाली बजारमा विद्युतीय सवारीसाधन (ईभी) को माग बढेसँगै कोरला नाका आयातको मुख्य विन्दु बनेको छ । हालसम्म यस नाकाबाट २ हजार ७४ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिसकेका छन् । विशेषगरी बीवाइडी कम्पनीले यसै महिना ५०० भन्दा बढी गाडी पैठारी गरिरहेको छ, जसमध्ये ३०० वटाको भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन् ।
राजस्व र वातावरणीय प्रभाव यस नाकाबाट भएको व्यापारिक कारोबारमार्फत सरकारले ५ अर्ब ६ करोड ६२ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । इन्धन बचत र कार्बन उत्सर्जन घटाउने सरकारको नीति अनुसार विद्युतीय सवारीमा दिइएको भन्सार सहुलियतका कारण आयातकर्ताहरू कोरला नाकातर्फ आकर्षित भएका हुन् ।
प्रतिकूल मौसममा पनि उत्साहजनक व्यापार हिउँदयाममा ४,६१० मिटरको उचाइमा रहेको कोरला नाकाको तापक्रम माइनस २० डिग्री सेल्सियससम्म पुग्ने भए तापनि व्यापारिक चहलपहल रोकिएको छैन । चिनियाँ चालकले नाकासम्म ल्याइदिएका गाडीहरूलाई नेपाली चालकले जोमसोम हुँदै पोखरा र काठमाडौँसम्म पुर्याउने गरेका छन् ।
नाकामा गाडीको चाप बढेसँगै बेनी–जोमसोम–कोरला सडक खण्डमा रहेका चार्जिङ स्टेसनहरू समेत व्यस्त बनेका छन् । भन्सार प्रमुख खड्काका अनुसार सवारीसाधन बाहेक दैनिक १० देखि १२ वटा मालबाहक कन्टेनरहरूले दुई देशबीच सामान ओसारपसार गरिरहेका छन् । प्रतिकूल मौसमका बाबजुद नाका चलायमान हुनुले नेपालको अर्थतन्त्र र उत्तरी व्यापारमा नयाँ उत्साह थपेको छ ।
सत्यपाटी