२०८२ माघ १ , बिहीबार 15, January 2026, Thursday

बंगलादेशमा फेरि अर्का हिन्दु युवक कुटीकुटी मारिए

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस १० गते बिहीबार

बंगलादेशमा फेरि अर्का हिन्दु युवकलाई कुटीकुटी मारिएको छ । प्रहरीका अनुसार बुधबार राति ११ बजेतिर राजबारी जिल्लाको होसेन्डांगा गाउँमा २९ वर्षीय अमृत मण्डल उर्फ सम्राट नामका युवकको हत्या भएको हो ।

यसअघि यही डिसेम्बर १८ मा ढाकानजिकै भिडले हिन्दु समुदायकै युवक दिपुचन्द्र दासको हत्या गरेको थियो । हत्यापछि युवकको शवलाई समेत रुखमा झुन्ड्याएर आगो लगाइएको थियो ।

प्रहरीले अमृत मण्डललाई जबरजस्ती चन्दा असुलीको आरोपमा भिडले हत्या गरेको बताएको छ । मृतक होसेन्डांगा गाउँका बासिन्दा थिए । प्रहरीले अमृतका सहयोगी मोहम्मद सलीमलाई पक्राउ गरेको छ र उनको साथबाट दुई हतियार बरामद पनि गरेको छ ।

प्रहरी एसएसपीले सम्राटको शव पोस्टमार्टमका लागि राजबारी सदर अस्पतालको शवगृहमा पठाइएको बताएका छन् । उनले सम्राटविरुद्ध पाङ्सा प्रहरी चौकीमा कम्तीमा दुईवटा जाहेरी दर्ता भएको पनि बताए, जसमा एउटा हत्यासम्बन्धी छ ।

डेली स्टारका अनुसार, स्थानीयले सम्राटमाथि आपराधिक गिरोह बनाएको आरोप लगाएका छन् । उनी लामो समयदेखि जबरजस्ती रकम असुल्ने र अन्य आपराधिक गतिविधिमा संलग्न रहेको दाबी स्थानीयले गरेका छन् ।

लामो समय भारतमा लुकेर बसेपछि उनी हालै घर फर्किएका थिए । सम्राटले गाउँका बासिन्दा साहिदुल इस्लामसँग जबरजस्ती रकम असुल्ने गरेको आरोप छ । बुधबार राति पनि सम्राट र उनका साथीहरू साहिदुलको घरमा पैसा लिन गएको दाबी गरिएको छ ।

परिवारका सदस्यहरूले चोर चोर भनेर चिच्याएपछि स्थानीयहरू आएर सम्राटलाई कुटपिट गरेको बताइएको छ । उनका अन्य साथीहरू भने भाग्न सफल भएको बताइएको छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८२ पुस १० गते बिहीबार