२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

चिसो बढेपछि बाँकेका विद्यालय तीन दिन बन्द

केही दिनदेखि सुरु भएको शितलहरका कारण अत्यधिक चिसो बढ्काले बालबालिका बिरामी पर्न थालेपछि बाँके जिल्लाका पाँच वटा पालिकाका विद्यालयहरु बन्द गरिएका छन् । अत्यधिक चिसोका कारण मौसम प्रतिकूल बन्दै गएको जनाउँदै जिल्लाका कोहलपुर नगरपालिका, खजुरा, जानकी र बैजनाथ गाउँपालिकाका विद्यालयहरु तीन दिन बन्द गरिएका छन् भने नेपालगन्ज उपमहानगरका विद्यालयहरु चार दिन बन्द गरिएका छन् ।

शितलहर, हुस्सु र कुहिरोका कारण बढेको अत्यधिक चिसो र मौसमको अवस्थालाई मध्यनजर गर्दै विभिन्न क्षेत्रबाट प्राप्त सुझावका आधारमा ती पालिकाहरुले पालिकाभित्रका सबै सामुदायिक तथा निजी विद्यालयहरूलाई बन्द गर्ने निर्णय गरिएको जनाएका छन् । विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै नगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको कोहलपुर नगरपालिकाले जनाएको छ ।

उनले मौसममा सुधार आएमा आइतबारदेखि नियमित रूपमा पठनपाठन सुचारु गराइने तथा सुधार नभए फेरी अर्को सूचना जारी गरेर केही दिन थप विद्यालय बन्द गरिने बताए । सोही प्रकारले अत्यधिक चिसो बढेपछि जानकी गाउँपालिकाका सम्पूर्ण विद्यालयहरुमा पठनपाठन बन्द गर्ने निर्णय गरिएको छ । चिसो बढेपछि तीन दिनसम्म सम्पूर्ण विद्यालयहरूमा पठनपाठन बन्द गर्न निर्णय गरिएको हो ।

जानकी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख कृष्णा कुमारी भण्डारीले शीतलहर तथा हुस्सुका कारण अत्यधिक चिसो बढेपछि तीन दिन सम्पूर्ण विद्यालय बन्द गरिएको बताइन् । यसैगरी खजुरा गाउँपालिकाले अत्यधिक चिसोका कारण बालबालिकालाई विद्यालय आउन–जान असहजता भएको भन्दै तीन दिन विद्यालय बन्द गरिएको जनाएको छ ।

पालिकाले शिक्षा समितिको निर्णयअनुसार तीन दिन पठनपाठन स्थगित गरी प्रशासनिक कार्य भने नियमित सञ्चालन गर्न अनुरोध गरेको छ । खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले अत्यधिक चिसो र शीत लहरका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।

यस्तै बैजनाथ गाउँपालिकाले पनि चिसो बढ्दा बालबालिकालाई समस्या भएको जनाउँदै तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको पालिकाको शिक्षा शाखाले जनाएको छ । यस्तै नेपालगन्ज उपमहानगरले भने पुस ११ गतेबाट चार दिनका लागि उपमहानगरभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको नेपालगन्ज उपमहानगरको शिक्षा शाखाका प्रमुख गोर्खबहादुर थापाले बताए ।

प्रकाशित मिति : २०८२ पुस १० गते बिहीबार