नेपालबाट जडिबुटी निकासी गर्ने क्रम फेरि बढ्दै गएको छ । साविकको मध्य र सुदूरपश्चिमको केन्द्रविन्दु तथा लुम्बिनी प्रदेशको प्रमुख आर्थिक केन्द्र नेपालगन्ज पुनः जडिबुटी निकासीको ‘हब’ बन्दै गएको छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म यो नाकाबाट २५ करोडभन्दा बढीको जडिबुटी निर्यात भई गत आर्थिक वर्षको सोही अवधीभन्दा ७१ प्रतिशत बढी जडिबुटी निर्यात भएको छ ।
नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्र कुमार खड्काले चालु आवको साउनदेखि मङ्सिरसम्म २५ करोड २६ हजार रुपैयाँको विभिन्न प्रकारका आठ लाख ४१ हजार ३३८ किलो जडिबुटी निर्यात भएको बताए । उनले यस वर्ष गत वर्षको सोही अवधीको तुलनामा जडिबुटी निर्यात १० करोडभन्दा बढी वृद्धि भएको बताए । खड्काका अनुसार गत आर्थिक वर्षको सोही अवधीमा १४ करोड ६२ लाख ७९ हजार रुपैयाँको जडिबुटी निर्यात भएको थियो ।
मुलुकबाट जडिबुटी प्रशोधन गरेर निकासी गर्ने क्रम पनि बढेको उद्योगी व्यवसायीहरूले बताएका छन् । नेपालगन्ज नाकाबाट भारत निकासी हुनेमा टिमुर, काउलो, सतुवा, बोझो, दालचिनी, अमला सबैभन्दा बढी छ । नेपालबाट निकासी हुनेमध्ये ८५ प्रतिशत जडिबुटी भारतमा निकासी हुने गरेको जडिबुटी व्यवसायी सङ्घको नेपालगन्जस्थित केन्द्रिय कार्यालयले जनाएको छ ।
केही वर्षयता आएर फेरि जडिबुटी निर्यात बढ्दै गएको जनाउँदै सरकारले निर्यात सहज हुने गरी जडिबुटी नीति ल्याए निकासी अझ वृद्धि हुन सक्ने नेपाल जडिबुटी व्यवसायी सङ्घका केन्द्रिय अध्यक्ष टङ्कप्रसाद शर्माले बताए । उनले प्रष्ट जडिबुटी नीति नहुँदा व्यवसायीले सहज रूपमा काम गर्न नपाएको गुनासो गर्दै नीतिलाई सहज र सरल बनाउनुपर्ने माग गरे । हिमाली जिल्लामा सङ्कलन इजाजत र छुट पुर्जी लिन सदरमुकाम जानुपर्ने झन्झट छ ।
साना व्यवसायीले जडिबुटी ओसारपसार गर्न नसक्ने अवस्था रहेको सङ्घले जनाउँदै आएको छ । एउटा जिल्लाबाट अर्को जिल्ला लैजान समेत अप्ठ्यारो हुने गरेको व्यवसायीहरूको भनाइ छ । सङ्घका अनुसार पहिचान भइसकेका जडिबुटी प्लान्ट क्वारेन्टाइनमा सूचीकृत नहुँदा विदेश निर्यातमा समस्या हुने गरेको छ । जडिबुटी व्यवसायी सङ्घका अध्यक्ष शर्माले सूचीकृत नभएका जडिबुटी निकासी गर्दा अनेक समस्या हुने गरेको जनाउँदै बढीभन्दा बढी जडिबुटीलाई सूचीकृत गर्नुपर्ने आवश्यकता औँल्याए ।
सत्यपाटी