२०८२ माघ ५ , सोमबार 19, January 2026, Monday

झापा ५ बाट चुनाव लड्दै बालेन !

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस १० गते बिहीबार

केही दिनयता सामाजिक सञ्जालमा एउटा विषयले खुब चर्चा पाएको छ, ‘काठमाडौँका मेयर बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लड्ने इच्छा देखाए ।’ यो विषयमा मेयर बालेन आफैंले भने प्रतिक्रिया दिएका छैनन्, तर अनुमानका आधारमा चर्चा भने भइरहेको छ । यही चर्चाले झापा नै तरंगित बनेको छ ।

नेकपा एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य एवं झापाका नेता चिन्तन पाठकले बालेन झापा क्षेत्र नम्बर ५ बाट चुनाव लडे जमानत जफत हुने बताएका छन् । झापाको बिर्तामोडमा बिहीबार आयोजित एमालेको विरोध सभालाई सम्बोधन गर्दै नेता पाठकले एमाले ओलीसँग प्रतिस्पर्धा गर्ने बालेनको चर्चालाई लिएर कडा टिप्पणी गरेका हुन् ।

उनले बालेन साहलाई झापाली जनताले ‘जमानत जफत’ गरेर देखाइदिने भन्दै राजनीतिक जीवन नै अन्त्य हुन सक्ने चेतावनी दिए । ‘केपी ओलीसँग क्षेत्र नम्बर ५ मा चुनाव लड्ने कुरा बालेन साहका लागि अत्यन्तै अशुभ समाचार हुनेछ,’ पाठकले भने, ‘झापाली जनताले तिमीलाई जमानत जफत गरेर देखाइदिनेछन्, तिम्रो राजनीतिक जीवनको अन्त्य हुनेछ ।’

नेता पाठकले बालेन साहको नाम उल्लेख गर्दै उनले देखाएको साहसलाई ‘दुस्साहस’को संज्ञा दिए । उनले ओलीले राष्ट्रियता, विकास र पूर्वाधारको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै उनको विकल्प अरू हुन नसक्ने दाबी गरे ।

आफ्नो मन्तव्यका क्रममा पाठकले लिपुलेक, लिम्पियाधुरासहित चुच्चे नक्सा सार्वजनिक गरेको, भारतीय नाकाबन्दीको डटेर सामना गरेको र मदन भण्डारी लोकमार्ग, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलजस्ता ठुला भौतिक पूर्वाधार निर्माणमा ओलीले नेतृत्वदायी भूमिका खेलेको बताए ।

बिर्तामोडमा भएको विरोध सभामा एमालेका केही कार्यकर्ताहरूको उपस्थिति थियो । त्यही सार्वजनिक सभामा उनले बालेनबारे गरेको टिप्पणी अहिले सामाजिक सञ्जालहरूमा भेटिन्छन् । बालेन झापा ५ बाट चुनाव लड्ने बताएपछि नै केही दिन अगाडि नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रञ्जित तामाङले सामाजिक सञ्जालमा बालेनसँग वार्ता गर्नुपर्ने भन्दै स्टाटस लेखे ।

‘झापा ५ मा बालेनजीसँग बार्ता गर्नुपर्ने भयो, यसपटक केही न केही परिवर्तन अपरिहार्य छ,’ तामाङले लेखेका छन् । झापा–५ एमाले ओलीको निर्वाचन क्षेत्र मात्रै होइन, गृह क्षेत्र पनि हो । त्यहाँबाट ओली २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन माओवादीका उम्मेदवार विश्वदीप लिङ्देनसँग पराजित भएका थिए ।

उनको पराजयको विषयलाई त्यसबेला माओवादीले आफ्नो ठुलो विजयका रूपमा हेरेको थियो । तर त्यसअघि र पछिका निर्वाचनमा ओलीले निक्कै फराकिलो मतान्तरले प्रतिस्पर्धीहरूलाई पराजित गर्दै आएका थिए । दमकमा ओलीले गरेको ‘विकास निर्माण’को कुरालाई लिएर निकै चर्चा हुने गरेको छ ।

अझै दमक–३ ढुकुरपानीमा निर्माण भएको १८ तले भ्युटावर पनि ओलीकै पहलमा बनेको हो । एक अर्ब ३८ करोडमा बनेका यस्तो संरचना सञ्चालनमा भने कठिनाइ हुँदै आएको विषयमा ओलीको आलोचना हुने गरेको छ । यद्यपि सडक कालोपत्र, सभाहल तथा सानातिना सामुदायिक भवनहरूमा पनि ओलीले सरकारी बजेट खन्याएका छन् ।

कांग्रेसबाट सो क्षेत्रमा निर्वाचन लड्न मेदनी सिटौला, अइन्द्र केरुङ, खगेन्द्र पाण्डव अधिकारी, देवी दाहाल, मन्दिरा पौडेल र पदम पौडेलको नाम सिफारिस गरेको छ । नेपाली कम्युनिस्ट पार्टीले भने झापा–५ मा चार जनाको नाम सिफारिस गरेको छ । जसमा रञ्जित तामाङ, सुरेन्द्र बस्नेत, ठालुप्रसाद गौतम, दिपेनवाला राई र हरिमाया मैनाली छन् । तामाङ र बस्नेत पार्टीका केन्द्रीय सदस्य हुन् ।

प्रकाशित मिति : २०८२ पुस १० गते बिहीबार