२०८२ माघ २ , शुक्रबार 16, January 2026, Friday

२०२६ को आम चुनावमा शेख हसिनाको पार्टी बहिष्कृत

सत्यपाटीसत्यपाटी । ढाका । २०८२ पुस १० गते बिहीबार

बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिग फेब्रुअरी २०२६ मा हुने राष्ट्रिय संसदीय चुनावमा भाग लिन नसक्ने स्पष्ट पारेको छ । सरकारले पार्टीको गतिविधिमा प्रतिबन्धका कारण चुनाव लड्न अनुमति नदिने बताएको हो ।

पत्रकार सम्मेलनका क्रममा एक पत्रकारले केही अमेरिकी सांसदहरूले अवामी लिगमाथिको प्रतिबन्धबारे चिन्ता व्यक्त गर्दै प्रमुख सल्लाहकारलाई पत्र लेखेको बारे सोधेका थिए । आफूले त्यस्तो कुनै पत्र नदेखेको अनि आफूलाई पत्रबारे थाहा नभएको अन्तरिम सरकारका प्रमुख सल्लाहकारका प्रेस सचिव शफिकुल आलमले भनेका थिए ।

यद्यपि उनले सरकारको अडान पूर्ण रूपमा स्पष्ट रहेको दोहोर्याएका थिए । मे महिनाको सुरुमा अन्तरिम सरकारले अवामी लिग र यसका सबै सम्बद्ध र सहयोगी संस्थाहरूको गतिविधिमा प्रतिबन्ध लगाउने राजपत्र सूचना जारी गरेको थियो । यो सूचना गृह मन्त्रालयको सार्वजनिक सुरक्षा विभागले जारी गरेको थियो ।

सरकारले यो कारबाही आतंकवाद विरोधी (संशोधन) अध्यादेश अन्तर्गत गरिएको र अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणमा मुद्दा पूरा नभएसम्म प्रतिबन्ध लागु रहने बताएको छ । हाल अवामी लिगका धेरै नेताहरूले अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणमा मुद्दाको सामना गरिरहेका छन् र पार्टीको दर्ता निलम्बित गरिएको छ । यता पूर्वप्रधानमन्त्री हसिनाले चुनावबाट बहिष्कारको कडा विरोध गरेकी छिन् ।

उनले भनेकी छन्, ‘अवामी लिगबिनाको चुनाव चुनाव होइन, राज्याभिषेक हुनेछ ।’ हसिनाले थपिन्, ‘जब मानिसहरूलाई आफ्नो मनपर्ने पार्टीलाई मतदान गर्ने अवसर हुँदैन, तिनीहरूले मतदान नै गर्दैनन् । यदि अवामी लिग प्रतिबन्धित रह्यो भने लाखौं मानिसहरू मतदानबाट वञ्चित हुनेछन् । यस्तो चुनावबाट बनेको सरकारमा शासन गर्ने नैतिक अधिकारको अभाव हुनेछ ।’ बंगलादेशलाई यस समयमा राष्ट्रिय मेलमिलापको आवश्यकता रहेको अनि यो निर्णय ठुलो अवसर गुम्नुजस्तो भएको उनले बताइन् ।

प्रकाशित मिति : २०८२ पुस १० गते बिहीबार