२०८२ माघ ५ , सोमबार 19, January 2026, Monday

भरतपुरको मेयर छाडेर संसदीय निर्वाचनमा होमिइन् रेणु दाहाल

सत्यपाटीसत्यपाटी । चितवन । २०८२ पुस १० गते बिहीबार

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई नेपाली कम्युनिस्ट पार्टीले चितवन क्षेत्र ३ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । नेकपाको बिहीबार बसेको क्षेत्र नं. ३ को बैठकले दाहाललाई उम्मेदवार सिफारिश गरेको हो ।

यो क्षेत्रबाट उनको एकल सिफारिस गरिएको छ । उनको सिफारिस जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमार्फत केन्द्रमा पठाइनेछ । दाहालले महानगरमा एक वर्ष कार्यकाल बाँकी छँदै राजीनामा दिएर चुनावमा जुट्ने तयारी गरेकी छन् ।

माडी नगरपालिकासहित भरतपुर महानगरपालिकाका १९ वटा वडा रहेको चितवन निर्वाचन क्षेत्र नं. ३ मा गत निर्वाचनमा यस क्षेत्रबाट राप्रपाका विक्रम पाण्डे निर्वाचित भएका थिए । उनले ३५ हजार ६० मत पाएका थिए ।

दोस्रो नम्बरमा रहेका तत्कालीन नेकपा (माओवादी केन्द्र)का भोजराज अधिकारीले २५ हजार ८२४ मत पाएका थिए । तेस्रो नम्बरमा रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार जिता बरालले १४ हजार ८४३ मत पाएकी थिइन् । पार्टीको निर्णयलाई कदर गर्दै जनताको विश्वास अनुसार चुनावी मैदानमा उत्रन तयार रहेको रेनुको प्रतिक्रिया छ ।

प्रकाशित मिति : २०८२ पुस १० गते बिहीबार