अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले आफ्नो १०० दिनको कार्यविवरण सार्वजनिक गरेका छन् ।
सिंहदरबारस्थित भौतिक मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री घिसिङले आफ्नो १०० दिने प्रगति सार्वजनिक गरेका हुन् । जेनजी आन्दोलनपछिको विषम र चुनौतीपूर्ण परिस्थितिमा गठन भएको सरकारमा आम नागरिकको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने तीन मन्त्रालयको जिम्मेवारी जनताको सेवकका रुपमा निर्वाह गर्ने प्रयास यो अवधिमा गरेको उनको भनाइ छ ।
सो क्रममा उनले १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलसहित यस अवधिमा सडक विभाग अन्तर्गतका करिब ३ अर्ब रुपैयाँका ठेक्का रकम भएका ४० वटा रुग्ण ठेक्का तोडिएको बताए । अरु करिब १५० रुग्ण ठेक्का तोड्ने प्रक्रियामा रहेको उनले बताए ।
उनले भने, ‘ठेक्का सम्झौताको समय ६० प्रतिशत बित्दा पनि १० प्रतिशत मात्र कार्य भएको राष्ट्रिय गौरवको सुनकोशी मरिन बहुउद्देश्यीय आयोजनासहित जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गतका १४ अर्ब २२ करोड रुपैयाँ ठेक्का रकम भएका २२ वटा रुग्ण ठेक्का तोडिएका छन् ।’
सहरी विकास मन्त्रालय अन्तर्गतका पनि चार रुग्ण ठेक्का तोडिएको उनको भनाइ छ । उनले तोडिएका आयोजना फेरि अलपत्र नपार्ने प्रतिबद्धता जनाउँदै स्पष्ट निर्णयसहित नयाँ ठेक्काको प्रक्रिया सुरु गरिसकेको जानकारी दिए ।
करिब तीन खर्ब ७४ अर्ब रुपैयाँ अनुमानित लागत रहेको १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनालाई स्वदेशी लगानीमा निर्माण गर्ने गरी लगानी ढाँचा तय गरिएको र सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको उल्लेख गरे ।
उनले डेडिकेटेड तथा ट्रंकलाइन संरचना प्रयोग गरी खपत भएको विद्युत्को बक्यौता उठाउन सुरु भएको भन्दै यसलाई पनि आफ्नो प्रगति विवरणमा समावेश गरेका छन् ।
सत्यपाटी