खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले यस वर्ष बाँकेका किसानसँग धान खरिदको कोटा पूरा गरेको छ । खाद्यले यस वर्ष २० हजारभन्दा बढी क्वीन्टल धान खरिद गरेको छ । यस वर्ष नेपालगन्ज कार्यालयले धान खरिदका लागि १५ हजार क्वीन्टल मोटा धान र पाँच हजार क्वीन्टल मध्ययम गरी जम्मा २० हजार क्वीन्टल धान खरिदको कोटा पाएको थियो । जसमध्ये खाद्यले प्राप्त कोटाभन्दा केही बढी धान खरिद गरेको हो ।
गत कात्तिक २३ गतेबाट किसानका धान खरिद गर्न लागेको नेपालगन्ज कार्यालयले १५ हजार २९४ दशमलव ५० क्वीन्टल मोटा धान र ४ हजार ९९९ दशमलव ७० क्वीन्टल मध्यम गरेर जम्मा २० हजार २९४ दशमलव २० क्वीन्टल धान खरिद गरेको हो । यस वर्ष बाँकेका किसानहरूसँग १५ हजार २९४.५० क्वीन्टल मोटा धान र चार हजार ९९९.७० क्वीन्टल मध्यम गरी जम्मा २० हजार २९४.२० क्वीन्टल धान खरिद गरिएको कार्यालय प्रमुख रामशरण लामिछानेले बताए ।
लामिछानेका अनुसार मोटा धान पाँच करोड २९ लाख ७७ हजार २४२ रुपैयाँ र मध्यम धान एक करोड ८१ लाख ४० हजार ५६१ गरी जम्मा सात करोड ११ लाख १७ हजार ८०३ रुपैयाँको धान खरिद गरिएको छ । मोटा धानको तीन हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको तीन हजार ६२८ रुपैयाँ ३३ पैसा सरकारले तोकिदिएको न्यूनतम समर्थन मूल्यमा किसानसँग धान खरिद गरिएको उनले बताए ।
केन्द्रबाट नै सीमित बजेट छुट्इयाएको र सोही अनुसार धान खरिदको कोटा प्राप्त गरेको हुँदा कोटा अनुसारको धान खरिद गरिसकेपछि यस वर्षलाई धान खरिद कार्य बन्द गरिएको उनले बताए । ‘यस वर्ष नेपालगन्ज कार्यालयबाट १५ हजार क्वीन्टल मोटा धान र पाँच हजार क्वीन्टल मध्यम गरी २० हजार क्वीन्टल धान खरिद गर्ने कोटा पाएका थियौँ, यो कोटा गत वर्षभन्दा आधाले कमी हो । मोटा धान निर्धारित कोटाभन्दा केही बढी खरिद गरेका छौँ, मध्यम धान भने कोटा अनुसार नै खरिद गर्यौँ,’ कार्यालय प्रमुख लामिछानेले भने ।
यस वर्ष धान बिक्री गर्न ७२१ जना किसानले स्थानीय तहको सिफारिस दर्ता गराएको र सिफारिस दर्ता गराएकामध्ये ५३६ जना किसानसँग मात्र धान खरिद गरिएको कार्यालयका सूचना अधिकारी वरिष्ठ सहायक शिवराज घिमिरेले जानकारी दिए । उनका अनुसार एक किसानसँग बढीमा ४० क्वीन्टल मात्र धान खरिद गरिएको र कार्यालयले धान बिक्री गरेबापतको रकम बैँकमार्फत भुक्तानी गरेको छ ।
किसानको बैँक खाता, मोबाइल नम्बर र स्थानीय तहको सिफारिस अनिवार्य गरिएको थियो । गत वर्ष ४० हजार धान खरिद गर्ने कोटा पाएको यस कार्यालयले मध्यम धान बिक्री गर्ने किसानको चाप बढेपछि खाद्यले केन्द्रीय कार्यालयसँगको सहमतिमा थप १५ हजार क्वीन्टल मध्यम धान खरिद गर्ने गरी ५५ हजार क्वीन्टलको लक्ष्य लिएकोमा ३२ हजार क्वीन्टलभन्दा बढी धान खरिद गरेको थियो ।
सत्यपाटी