बाँकेको फोटोसहितको मतदाता नामावलीमा ९९३ जनाको दोहोरो नाम फेला परेको जिल्ला निर्वाचन कार्यालय, बाँकेले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार नेपालगन्ज उपमहानगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा मतदाता नामावलीमा ती दोहोरो नाम दर्ता गराएको पाइएको हो ।
सबैभन्दा बढी नेपालगन्जको र सबैभन्दा कम कोहलपुर नगरपालिकामा दोहोरो नाम दर्ता गराइएको पाइएको जनाउँदै प्रमुख शाहीले नामहरु केन्द्रमा पठाएपछि केन्द्रबाट ९९३ जनाको नाम दोहोरो परेको जानकारी आएको बताए ।
निर्वाचन अधिकारी शाहीले भने, ‘हामीले नाम दर्ता गरेर केन्द्रमा पठाएपछि मात्रै थाहा पायौँ । हाल नाम अद्यावधिक गर्ने कार्य जारी रहेको र मतदाता नामावलीको दोहोरो नाम हटाउने काम भइरहेको छ ।’
बाँकेमा २३ वटा मतदान केन्द्र थप हुने सम्भावना देखिएको पनि जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयलाई जनसंख्याका आधारमा निर्वाचन केन्द्र थप हुने जानकारी गराए अनुसार बाँकेमा जिल्लामा केन्द्र थप हुनेछन् ।
यसअघि जिल्लामा ३८१ मतदान केन्द्र रहेका थिए । हाल जिल्लामा राप्तीसोनारी गाउँपालिका–२ को अगैयामा नयाँ मतदानस्थल थप भएको र चार वटा स्थानान्तरण भएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।
सत्यपाटी