बाँकेको राजनीतिमा २०५१ सालदेखि नै सक्रिय अनि हरेक निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका विघटित प्रतिनिधि सभा सदस्य डा.धवलशमशेर राणाले आसन्न निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका छन् ।
डा.राणाले २०५१ सालमा सेफ दी नेसनका तर्फबाट बाँके क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धा गरेका थिए । २०५४ सालमा उनी नेकपा (एमाले)का तर्फबाट नेपालगन्ज नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।
विसं २०६४ मा पहिलो संविधानसभा निर्वाचनमा बाँके ३ बाट राप्रपाका तर्फबाट संविधान सभा सदस्यको उम्मेदवार बनेका राणा २०७० सालको संविधान सभा निर्वाचनमा तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँग झिनो मतान्तरले पराजित भएका थिए ।
त्यसबेला उनी राप्रपा नेपालको उम्मेदवार थिए । वि.सं. २०७४ सालमा नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा राप्रपाबाट विजयी राणा २०७९ को निर्वाचनमा बाँके क्षेत्र नं.२ मा नेकपा (एमाले) सँगको गठबन्धनको सहयोगमा प्रतिनिधि सभामा विजयी भएका थिए ।
हाल राप्रपाका महामन्त्री रहेका डा.धवलशमशेरको उपस्थितिमा सम्पन्न पार्टीको क्षेत्र नम्बर २ को बैठकले सहमहामन्त्री ऋषिराज देवकोटा एवं नेताहरू नन्दलाल वैश्य र चन्द्रशेखर पाण्डेको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।
बैठकमा राणाले आफू राप्रपाको केन्द्रीय सङ्गठन विस्तारमा केन्द्रित हुने भन्दै नयाँ पुस्तालाई उम्मेदवार बनाउने पक्षमा भएकाले आफ्नो नाम सिफारिस नगर्न आग्रह रेका थिए । राप्रपाका सहमहामन्त्री देवकोटाका अनुसार उम्मेदवार छनोट गर्न बसेको बैठकमा अधिकांशले डा.धवलको नाम सिफारिस गर्ने भन्दै उनीमाथि दबाबसमेत दिएका थिए ।
राणाले नमानेपछि अन्य तीन जनाको नाम सिफारिस भएको हो । डा.राणाले तीन दशकभन्दा लामो समयदेखि चुनावी प्रतिस्पर्धामा रहेको भन्दै अन्य व्यक्तिलाई पालो दिनुपर्छ भन्ने लागेर निर्वाचनमा प्रतिस्पर्धा नगर्ने योजना बनाएको बताए ।
सत्यपाटी