तापक्रम घट्दै जाँदा चिसो बढ्दै जान थालेको छ । अबका केही दिन चिसो थप बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ‘पश्चिमी वायुका कारण केही दिन चिसो थप बढ्ने भएको छ । पश्चिमदेखि पूर्वी तराईसम्म चिसो बढ्ने भएकाले थप सतर्क हुनुपर्नेछ,’ मौसमविद् सरोज पुडासैनी भन्छन् ।
पश्चिमी वायुसँगै आएको जलवाष्पयुक्त हावाका कारण चिसो हुने भएको हो । बिहान बाक्लो हुस्सु तथा कुहिरो लाग्ने र अबेरसम्म घाम नलाग्दा चिसो हुने उनको भनाइ छ । यसैबीच, काठमाडौंमा आज बिहान ५ः४५ बजेको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान छ ।
हिजो काठमाडौंको न्यूनतम तापक्रम यो वर्षको हालसम्मकै कम ४.९ डिग्री सेल्सियस मापन गरिएको थियो । तराईका अधिकांश स्थानमा आज हुस्सु र कुहिरो लागेको छ । ‘पूर्वी तराईमा भन्दा पश्चिम तराईमा धेरै हुस्सु र कुहिरो लागेको छ,’ मौसमविद् पुडासैनी भन्छन्, ‘कतिपय ठाउँमा मध्याह्न १ः०० बजेसम्म घाम नलाग्न सक्छ ।’
बिहान पौने ६ बजे झापाको चन्द्रगढीमा भिजिविलिटी १०० मिटर मात्रै छ । विराटनगरमा ८०० मिटर भिजिविलिटी छ । भैरहवा र जनकपुरसमा समान हजार मिटर भिजिविलिटी छ । दिपायलमा ८००, धनगढीमा १२००, वीरेन्द्रनगर र घोराहीमा समान २०० तथा नेपालगन्जमा ८०० मिटर भिजिविलिटी रहेको छ ।
सत्यपाटी