यौन दुराचारी जेफ्री एप्स्टिनसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्तीमा आठपटक सँगै विमान यात्रा गरेको दाबी गरिएको छ । अमेरिकी न्याय विभाग (डीओजे)को वेबसाइटमा जारी ताजा दस्तावेजहरूमा ट्रम्पले कम्तीमा आठपटक एप्स्टिनको निजी जेटबाट उनको भर्जिन आइल्यान्डको निजी टापुसम्म यात्रा गरेको दाबी गरिएको छ ।
यी भ्रमण उडानहरू सन् १९९३ देखि १९९६ सम्मका भएको बताइएको छ । यो खुलासापछि अमेरिकी राजनीति र सञ्चारमाध्यमहरूमा बहस तीव्र भएको छ । एप्स्टिनले उनको निजी टापुमा नावालिक युवतीहरू तस्करी गरी उच्च बर्गका मानिसहरूलाई उपलब्ध गराइ यौनजन्य गतिविधि गराउने गरेको आरोप लागेको थियो ।
दस्तावेजहरूका अनुसार यो जानकारी २०२० जनवरी ७ को एक आन्तरिक इमेलमा आएको थियो, जसमा ट्रम्पले एप्स्टिनको निजी जेटमा पहिले बताइएको भन्दा धेरैपटक यात्रा गरेको पाइएको भनिएको छ । यो इमेल ‘रेम एपस्टिन फ्लाइट रेकर्डस’ विषयमा पठाइएको थियो । यद्यपि, इमेल पठाउने र प्राप्त गर्ने व्यक्तिको नाम गोप्य राखिएको छ ।
तर, यो दक्षिणी न्युयोर्क जिल्लाको एक सहायक अमेरिकी अभियोजकको हस्ताक्षर भएको बताइएको छ । इमेल अनुसार, ट्रम्प कम्तीमा आठ उडानहरूको यात्री सूचीमा दर्ता थिए । तीमध्ये चार उडानहरूमा नाबालिग युवतीहरूको तस्करी गरेको आरोपमा अहिले जेल परेकी घिस्लाइन म्याक्सवेल पनि सँगै थिइन् ।
दस्तावेजमा केही यात्राहरूमा ट्रम्पसँग उनकी तत्कालीन पत्नी मार्ला म्यापल्स, छोरी टिफनी र छोरा एरिक ट्रम्प पनि रहेको उल्लेख छ । एक उडानमा केवल एप्स्टिन र ट्रम्प नै यात्री थिए भने अर्को उडानमा एप्स्टिन, ट्रम्प र एक २० वर्षीय व्यक्ति थिए, जसको नाम गोप्य राखिएको छ ।
डीओजेको पक्ष र ट्रम्पको सफाई
यी दस्तावेजहरू सार्वजनिक भएपछि अमेरिकी न्याय विभागले हालका फाइलहरूमा ट्रम्पविरुद्ध केही असत्य र भ्रामक दाबीहरू पनि भएको स्पष्ट पारेको छ । डीओजेले यी आरोपहरू सन् २०२० को अमेरिकी चुनावअघि नै एफबीआईलाई पठाइएका र तिनमा कुनै ठोस आधार नभएको भनेको छ ।
विभागले उडानहरूमा नाम हुनु कुनै अपराधको प्रमाण नभएको बताएको छ । ट्रम्पले उनले एप्स्टिनसँग सन् २००४ तिर सम्बन्ध तोडिएको र गलत काममा उनको कुनै भूमिका नभएको निरन्तर भन्दै आएका छन् । यो इमेल करिब आठ हजार दस्तावेजहरूको भाग हो, जसलाई अमेरिकी न्याय विभागले एप्स्टाइन फाइल्स ट्रान्सपरेन्सी ऐनअन्तर्गत सार्वजनिक गरेको हो ।
यी फाइलहरूमा सयौं अडियो–भिडियो रेकर्डिङहरू र अगस्ट २०१९ को निगरानी फुटेज पनि समावेश छ । एप्स्टिन जेलमा मृत भेटिएका थिए । एप्स्टिनकी सहयोगी घिस्लेन म्याक्सवेललाई सन् २०२२ मा नाबालिगहरूको तस्करी र यौन शोषणका मुद्दामा २० वर्षको सजाय सुनाइसकिएको छ । यी नयाँ दस्तावेजहरूले अमेरिकामा पुराना मुद्दाहरू र राजनीतिक आरोप–प्रत्यारोपहरूलाई फेरि बल्झाएको छ ।
सत्यपाटी