२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

एसएसपी लालबाबुको सर्टिफिकेट नक्कली

नेपाल प्रहरी अस्पतालमा कार्यरत प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को एसएलसी प्रमाणपत्र नै नक्कली रहेको पाइएको छ । प्रहरी नायब निरीक्षक (सई) बाट जागिर सुरु गरेका एसएसपी लालबाबु गिरीको एसएलसी प्रमाणपत्र नक्कली रहेको भेटिएको हो ।

गिरीविरूद्ध नक्कली प्रमाणपत्र पेस गरी प्रहरीको उच्च पदमा पुगेर लाभ लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । गिरी १६ पुस २०५२ मा प्रहरी सेवामा भर्ना भएका थिए ।

अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार गिरीले जागिर सुरु गर्दा बिहार स्कुल एक्जामिनेसन बोर्ड पटनाबाट सन् १९८८ मा एसएलसीको योग्यता हासिल गरेको प्रमाणपत्र पेस गरेका थिए । त्यही सर्टिफिकेटका आधारमा उनले २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट पीसीएल नर्सिङ पास गरे ।

सोही सर्टिफिकेट पेस गरी उनले २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट पोस्ट बेसिक ब्याचलर इन नर्सिङ गरेका थिए । बिहारबाट ल्याएको उक्त प्रमाण पत्र पेस गरी गिरी प्रहरी निरीक्षक, प्रहरी नायब उपरीक्षक, प्रहरी उपरीक्षक हुँदै प्रहरी वरिष्ठ उपरीक्षक भएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

बिहारबाट उनले रोल नम्बर ७१८ को प्रमाणपत्र उल्लेख भएको कागजात पेस गरेका थिए । अख्तियारले बिहार बोर्डलाई पत्राचार गर्दा अभिलेखमा क्रमांक ५७६ सम्म मात्रै छापिएको पाइएको छ । यसरी नक्कली प्रमाणपत्र पेस गरेर सरकारी पदको लाभग्राही भएकाले उक्त कसुर भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार आकर्षिक हुने भएकाले मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता अधिकारीले बताए ।

प्रकाशित मिति : २०८२ पुस ९ गते बुधबार