२०८२ माघ २ , शुक्रबार 16, January 2026, Friday

हस्सु र शीतलहरले तराईका विद्यालय बन्द

सत्यपाटीसत्यपाटी । पर्सा । २०८२ पुस ८ गते मंगलबार

तराई–मधेशका जिल्लाहरूमा लगातारको हस्सु र शीतलहरका कारण चिसो बढेपछि विद्यालय बन्द गर्न थालिएको छ । चार दिनदेखि बढेको चिसोका कारण पर्साको वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका तथा पकहामैनपुर र छिपहरमाई गाउँपालिकाले चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै विद्यालयमा जाडो बिदा दिएको छ ।

वीरगञ्ज महानगरपालिकाले सोमबारदेखि बुधबारसम्म तीन दिनका लागि सामुदायिक तथा संस्थागत सबै विद्यालयमा पठनपाठन बन्द गरेको छ । पकहामैनपुर र छिपहरमाई गाउँपालिकाले पनि बुधबारसम्म बिदा दिएका छन् । यस्तै, बाराको परवानीपुर गाउँपालिकाले पुस ११ गते शुक्रबारसम्म विद्यालयको पठनपाठन बन्द गराएको छ । सिम्रौनगढ नगरपालिकाले पनि भोलिसम्म विद्यालयमा विदा दिएको छ ।

यस्तै, रौतहटमा गौर नगरपालिकाले आजदेखि शुक्रबारसम्म सार्वजनिक बिदा दिएको छ । यस्तै महोत्तरीको भंगहा तथा रामगोपालपुर नगरपालिकाले पनि ६ दिनका लागि विद्यालय बन्द गराएका छन् । पछिल्लो केही दिनयता तराईका जिल्लाहरूमा निरन्तर शीतलहर चलिरहेको छ । चिसो बढ्दा ती क्षेत्रका स्थानीयको जनजीवन प्रभावित भएको छ भने बालबालिका, वृद्धवृद्धा धेरै मारमा परेका छन् ।

प्रकाशित मिति : २०८२ पुस ८ गते मंगलबार