२०८२ माघ २ , शुक्रबार 16, January 2026, Friday

बाह्रकुने दहमा आन्तरिक पर्यटकको घुइँचो

सत्यपाटीसत्यपाटी । दाङ । २०८२ पुस ८ गते मंगलबार

दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । आन्तरिक र बाह्र पर्यटकको गन्तव्यका रूपमा रहेको बाह्रकुने दहमा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको छ । दहमा १२ कुना भएको हुनाले यसको नाम ‘बाह्रकुने दह’ रहन गएको हो ।

सुन्दर प्रकृतिको मनोरम दृश्य देखिने बाह्रकुने दहको सौन्दर्य अतुलनीय छ । लुम्बिनी प्रदेशको एउटा नमुनाका रुपमा रहेको छ । यो धार्मिक एवं पर्यटकीय स्थलका रुपमा चिनिने गरेको छ । बाह्र भाइ बराहमध्ये एक भाइ बाह्रकुनेमा बसेको भन्ने किंवदन्ती छ । तुलसीपुर उपमहानगरपालिका–१७ का सीता पन्थी साथीहरूसँग बाह्रकुने दह घुम्न आएकी हुन् ।

समुदायका आमा समूहबाट रमाइलो गरौँ भनेर वनभोज खान बाह्रकुने आएको उनले बताइन् । ‘तुलसीपुरमा हेरिरहेका धेरै ठाउँ थिए, घोराहीको बाह्रकुने हेर्ने अवसर मिलेको थिएन यहाँ आउँदा धेरै रमाइलो लाग्यो,’ पन्थीले भनिन्, ‘वनभोज खाने, नाचगान गरेर रमाइलो गर्नेको भीडभाड नै हुने रैछ । यहाँको मन्दिर वरिपरिको वातावरण रमाइलो रहेछ, मन्दिर छेउमा रहेको तालमा डुङ्गा सयर गर्दा झनै आनन्द आयो ।’

तालमा माछालाई चारो हाल्दा अझ आनन्द महसुस भएको उनको अनुभव छ । घोराही उपमहानगरपालिका–१८ की मुना पोखरेल पनि यही शनिबार विद्यार्थी लिएर बाह्रकुने पुगिन् । घोराही बजारको नजिकै रहेको र यातायातको सुविधा भएकाले बिदाको दिन भएर होला धेरै भीडभाड भएको उनले बताइन् । वनभोज खानेको उपस्थिति झनै धेरै देखियो । बाह्रै महिना यहाँ भक्तजनको भीडभाड हुने गर्छ त्यसमा पनि मंसिरदेखि माघमा यहाँ धेरै भक्तजन आउने गरेको बराहक्षेत्र संरक्षण समितिका अध्यक्ष देवबहादुर घर्तीले जानकारी दिइन् ।

उनले भनिन्, ‘बाह्रकुने दहमा बर माग्नका लागि भक्तजन आउने गर्दछन्, माघे सङ्क्रान्तिको दिन ठूलो मेला लाग्ने गर्दछ ।’ त्यहाँ विशेषगरी निःसन्तान दम्पती सन्तानका लागि बर माग्न आउने गर्दछन् । यहाँ अन्य समयमा भन्दा माघे सङ्क्रान्तिमा निकै भीडभाड हुने गर्दछ । यहाँ १२ वटा आकारमा निर्मित प्राकृतिक ताल रहेको छ । त्यहाँ भेडा र भालेको बलि दिइन्छ भने परेवा उडाउने गरिन्छ ।

ज्यामिरेमा डुङ्गा सरर

बाह्रकुने दहको उत्तरतिर रहेको ज्यामिरे दहलाई ठूलो बनाएपछि हरेक दिन आन्तरिक पर्यटक त्यहाँ पुग्ने गरेका छन् । अन्य दिनभन्दा बिदाको दिन बढी आन्तरिक पर्यटक त्यहाँ आउने गरेको ज्यामिरे दहमा डुङ्गा सञ्चालन गर्दै आएका वीरजङ्ग पुनले बताए । जंगलको बीचमा सुन्दर पर्यटकीय गन्तव्यका रुपमा रहेको तालमा जिल्ला र बाहिरबाट घुम्न आन्तरिक पर्यटक आउने गरेको पुनले बताए । उनका अनुसार पछिल्लो समय दैनिक सरदर २०० देखि ३०० जनासम्म घुम्न आउने गरेका छन् । मंसिरदेखि वैशाख महिनासम्म बढी भीड हुने गरेको उनको भनाइ छ ।

विगत तीन वर्षदेखि ज्यामिरे दहमा डुङ्गा चलाउँदै आएका पुनले डुङ्गा चलाएरै मासिक १५ देखि २० हजार रूपैयाँसम्म आम्दानी हुने गरेको बताए । उनका अनुसार पछिल्लो समय डुङ्गा सवार गर्ने र वनभोज खान दैनिक रूपमा मानिस आउने गरेका छन् । डुङ्गामा चढ्न एक जनाको १०० टिकटको व्यवस्था गरिएको छ । डुङ्गामा घुम्नका लागि १५ मिनेटदेखि २० मिनेटसम्म समय लाग्ने गरेको चालक पुनले बताए । ‘सानो पोखरीलाई विस्तारसँगै डुङ्गा राखेर पर्यटक तान्ने काम भएको छ,’ उनले भने, ‘ज्यामिरे दह पर्यटकीय क्षेत्रका रूपमा विकास भएसँगै व्यापार हुन थालेको छ ।’

प्रकाशित मिति : २०८२ पुस ८ गते मंगलबार