विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित दुबुङ गाउँ फेरिएको छ । पर्यटकीय दृष्टिकोणबाट यस क्षेत्र उपयुक्त मानिन्छ । तर, विकास तथा प्रवर्द्धनको अभावले ओझेलमा परेको क्षेत्र अहिले लयमा फर्किदैछ । ऋषिङ गाउँपालिका–३ स्थित दुबुङ क्षेत्र पर्यटकीय, ऐतिहासिक, धार्मिक र प्राकृतिक सौन्दर्यताको तबरबाट भरिपूर्ण रहेको सेवा निवृत्त प्रधानाध्यापक एवम् स्थानीयवासी हर्कबहादर थापा बताउँछन् ।
उनी भन्छन्, ‘गाउँबाट सदरमुकाम दुबुङडाँडा अर्थात दुबुङकोटबाट नजिकै देखिन्छ । तर, त्यहाँ पुग्न हामीलाई धेरै सास्ती खेप्नुपर्ने हुन्थ्यो । अहिले सहज बन्दै गएको छ । विकासोन्मुख अवस्थामा पुगेको छ ।’ अझै प्रचारप्रसार गर्न नसकिएको उनी बताउँछन् । उनी भन्छन्, ‘म शिक्षक थिएँ, विद्यालयको कामकाजले बारम्बार दमौली पुग्नुपर्ने हुन्थ्यो, सवारीसाधन, बाटोले पैदलबाट नै पुग्नुपर्ने थियो, अहिले सङ्घीयताले हामी जस्तो ग्रामीणवासीलाई विकास गर्दै सहजता कायम गरेको छ ।’
विकासले गति लिँदै जाँदा यहाँको प्रचारप्रसार भइरहेको उनी बताउँछन् । आन्तरिक भ्रमणको प्रचलन बढ्दै गएको छ । ऋषिङ–३ का वडाध्यक्ष भीमबहादुर थापाले प्रवद्र्धनको अभावमा ओझेलमा परेको दुबुङ गाउँ प्रचारप्रसार हुन थालेपछि आन्तरिक पर्यटकको आवागमन हुन थालेको बताए । उनले भने, ‘दुबुङकोटबाट जिल्लाको सदरमुकाम दमौली, ऋषिङका विभिन्न भूभाग, देवघाट क्षेत्र लगायत जिल्लाको मात्रै नभइ गोर्खाको मनकामना, गोर्खा बजार, चितवनको इच्छाकामना, नवलपुरको बुलिङटार, कालीगण्डकी करिडोरलगायतका स्थान सहजै देख्न सकिन्छ ।’
दुबुङबाट जिल्लाका अधिकांश ठाउँको अवलोकन गर्न सकिन्छ । उनले भने, ‘सङ्घीयता कार्यान्वयनमा आएपछि यो हाम्रो विकट क्षेत्रको रुपमा परिचित दुबुङको विकास हुने थिएन । सङ्घीयताले ग्रामीण क्षेत्रको विकासमा टेवा पुर्याएको छ । सडक, विद्युत् आएको विसं २०७५ देखि मात्रै उज्यालो छाएको हो । गाउँलेकै पहलमा सौर्य ऊर्जाबाट धानिएको थियो । यस क्षेत्र विविधता भए पनि विकासको अभावले पछाडि परेको थियो । विकाससँगै यस क्षेत्रको प्रवद्र्धन तथा प्रचारप्रसार बढ्न थालेको छ । यस ठाउँ पर्यटकीय सम्भाव्यताले भरिएको छ ।
दुबुङ प्राकृतिक रुपमा अत्यन्त सुन्दर भएकाले यसको व्यवस्थित प्रचारप्रसारबाट आन्तरिक तथा बाह्य दुवै पर्यटक भित्र्याउन यहाँका स्थानीय लालायित छन् । उनले भने, ‘नमूनाको रुपमा विकास भइरहेको चियाबगान, दृश्यावलोकन स्थलले पछिल्लो समय दुबुङको आकर्षण थप बढाएको छ ।’ दुबुङस्थित भालथुम्केमा पछिल्लो समय बृहत् चिया बगान विस्तार गरिएको छ । यहाँको आकर्षणको केन्द्र चिया बगान, नेपालका अधिकांश हिमशृङ्खला यहाँबाट अवलोकन गर्न सकिन्छ । सहज सडक बनाउने प्रयासमा रहेको र यहाँ बसोबासका लागि घरबास (होमस्टे) सञ्चालनमा रहेका छन् ।
बासोबासको व्यवस्थाले पनि हाल पर्यटन गन्तव्यको रुपमा विकास हुँदै गएको वडाध्यक्ष थापाले बताए । पहाडको काखमा बसेको यो स्थान केबल प्राकृतिक सुन्दरता मात्रै होइन, पहाडी जीवनशैली, कृषि पर्यटन, दृश्यावलोकन र ऐतिहासिक झल्कोले पनि भरिपूर्ण छ । दुबुङको आकर्षक भौगोलिक बनावट, प्राकृतिक सौन्दर्यतासँगै यहाँको महाशीला धार्मिक तवरबाट महत्वपूर्ण रहेको उनको भनाइ छ । उनका अनुसार यहाँका महत्वपूर्ण स्थालको योजनाबद्ध रुपमा प्रवद्र्धन गर्नसके पर्यटन विकासमा ठूलो फड्को मार्न सकिनेछ ।
डाँडामा पुग्नका लागि पदमार्ग, वनभोजस्थल दृश्यावलोकनका लागि भ्युटावर गरेर थप आकर्षण बनाइएको छ । ती पदमार्गमार्फत डाँडातर्फ उक्लदाको हिमशृङ्खलाको दृश्यसँगै आफ्ना तस्बिर लिन सकिन्छ । बाटो कच्ची भएकाले पर्यटकलाई केही असहज भए पनि, शिखरमा पुगेपछि देखिने दृश्य अत्यन्त मनमोहक लाग्नेछ । दुबुङबाट माछापुच्छ्रे हिमाल, अन्नपूर्ण, धौलागिरि, मनास्लु, गणेशलगायत हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । बिहानीपख विभिन्न डाँडा तथा बादलको घुम्टो ओढेको दृश्यले सबैलाई मोहित बनाउँछ ।
जिल्लाको दक्षिणी भेग मनमोहक हुँदाहुँदै पनि सम्बन्धित निकायले प्राथमिकतामा नराख्दा ओझेलमा परेको स्थानीयको भनाइ छ । अहिले सङ्घीयता ग्रामीण क्षेत्रको विकासमा पुलको काम गरेको उनीहरु बताउँछन् । पर्यटन पूर्वाधार तथा प्रचारप्रसारमा ध्यान दिनसके दुबुङ तथा मालथुम्के क्षेत्र समग्र तनहुँकै महत्वपूर्ण म्यू–प्वाइन्टका रुपमा स्थापित हुने स्थानीयवासीको विश्वास छ । यहाँ बाइसे चौबिसे राज्यका तनुङे, भिरकोटे, दुबुङ्गे राजाको झल्को दिनेगरी ढुङ्गाको राजगद्दी हाल पनि देख्न सकिन्छ ।
दुबुङकोटबाट जिल्ला सदरमुकाम दमौली, चाइना पुल, ऋषिङ, ग्वास्लुङ, काहुशिवपुर, मानुङ, छिम्केश्वरी, छिपछिपे, छेरङ्गा, मौरीबास, कॉफलडाँडा, भिरकोट, थप्रेकको दृश्य अवलोकन गर्न सकिनेछ । यहाँबाट देवघाट क्षेत्रलगायत जिल्लाको मात्रै नभइ गोर्खाको मनकामना, गोर्खा बजार, चितवनको इच्छाकामना, नवलपुरको बुलिङटार, नागबेली कालीगण्डकी, कालीगण्डकी करिडोर अवलोकन गर्न सकिन्छ ।
सत्यपाटी