सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले पछिल्लो एक महिनामा विभिन्न कसुरमा ५५६ मुद्दा दर्ता गर्नुका साथै चालु मुद्दाका २१४ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमूख प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाले सार्वजनिक चासोका मुद्दामध्ये ११४ मुद्दाको फछ्र्योट भएको जानकारी दिए ।
अदालतले विगतमा गरेको फैसला कार्यान्वयनको सिलसिलामा ५२४ फरार प्रतिवादीलाई पक्राउ गरिएको हो । मङ्सिरमा प्रदेश प्रहरी कार्यालय र मातहतका कार्यालयमा घरेलु हिंसातर्फ परेका ८० उजुरीमध्ये ६५ उजुरी मिलापत्र गरी मिलाइएको र आठ उजुरी कानुनी कारबाहीका लागि अदालतमा पठाइएको उल्लेख गरिएको छ ।
यस्तै विभिन्न ठाउँका १५५ महिला र बालबालिका हराएकामा खोजतलास गरेर ९० जनालाई सम्बन्धित परिवारको जिम्मामा लगाइएको छ । लागुऔषधतर्फ मङ्सिरमा प्रदेश प्रहरी र मातहतका कार्यालयको टोलीबाट २७ किलो चरेस र ११८ ग्राम खैरो हिरोइन बरामद गरिएको तथा यस क्रममा दुई महिला र ६८ पुरुषलाई लागुऔषधसहित पक्राउ गरेर यस सम्बन्धी ५६ मुद्दा दर्ता गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेशभरि यो अवधिमा १३० सवारीसाधन दुर्घटना भई १० जनाको मृत्यु र २१४ जना घाइते भएका छन् । ट्राफिक नियम उलङ्घन गरेर सवारीसाधन चलाउने तीन हजार २८० सवारीसाधनका चालकमाथि कारबाही गर्दा रु २६ लाख २४ हजार राजस्व सङ्कलन गरिएको छ । भन्सार छली गरेर ल्याएका रु ९६ लाख ४४ हजार मूल्य बराबरका व्यापारिक मालसामान बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको कार्यालयले जनाएको छ ।
सत्यपाटी