पश्चिमी वायुका कारणले नेपालको मौसम प्रणालीमा केही बदलाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारणले कुनैकुनै प्रदेशमा आकाशको केही भाग बादलले ढाक्ने सम्भावना छ । तराई–मधेसका भूभागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ ।
पश्चिमी वायु भित्रिएसँगै चिसो बढेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार धनगढीको शनिबारको अधिकतम तापक्रम १५.१ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ९.० डिग्री सेल्सियस थियो । आजको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस रहनेछ । नेपालगन्जको शनिबारको अधिकतम तापक्रम १४.६, न्यूनतम तापक्रम ९.० डिग्री सेल्सियस रहेको थियो ।
आज नेपालगन्जको न्यूनतम तापक्रम १०.६ डिग्री सेल्सियस रहनेछ । भैरहवाको शनिबारको अधिकतम तापक्रम १७.०, न्यूनतम तापक्रम १२.८ र आजको ११.९ डिग्री सेल्सियस रहनेछ । सिमराको शनिबारको अधिकतम तापक्रम १५.६, न्यूनतम १३.४, आजको न्यूनतम तापक्रम १०.६ डिग्री सेल्सियस रहनेछ ।
जनकपुरको अधिकतम तापक्रम १९.६, न्यूनतम १४.५, आजको १२.६ डिग्री सेल्सियस रहनेछ । विराटनगरको शनिबारको अधिकतम तापक्रम २२.०, न्यूनतम तापक्रम १२.६, आजको १२.६ डिग्री सेल्सियस रहनेछ । झापा चन्द्रगढीको अधिकतम तापक्रम २४.२, न्यूनतम तापक्रम ११.४ र आजको न्यूनतम तापक्रम १३.० रहनेछ । पश्चिमी वायुको प्रभाव देखिए पनि तत्काल कुनै वर्षाको सम्भावना छैन ।
मौसमविद्का अनुसार आगामी दुई हप्तासम्म पनि वर्षाको सम्भावना नरहेको बताइएको छ । पछिल्लो एक महिनायता मुलुकभर वर्षा मापन नभएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गत मंसिर ५ गते ताप्लेजुङ ताप्लेथोक केन्द्रमा २ मिलिमिटर वर्षा रेकर्ड भएको थियो । त्यसयता एक झर पानी परेको छैन । पानी नपरेकाले काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरहरूमा वायु प्रदूषण बढेको छ ।
वातावरण विभागको वायु गुणस्तर अनुगमन प्रणालीका अनुसार पछिल्लो २४ घन्टामा सुर्खेतको वायु शुद्धता सूचकांक (एक्युआई) १७८, देउखुरी दाङको १५३, काठमाडौंको रत्नपार्कको १४७, भक्तपुरको १४६, खुमलटारको ११७ पुगेको छ । वायु शुद्धता सूचकांक अनुसार ०–५० अंक स्वस्थ, ५१ देखि १०० अंक मध्यम र १०१ देखि १५० अंकसम्म अस्वस्थकर र त्यसभन्दा माथिको अंकलाई घातक मानिन्छ ।
सत्यपाटी