चालु आर्थिक वर्ष २०८२–०८३ को पाँच महिना बितिसक्दा कर्णाली सरकारको खातामा अझै २९ अर्बभन्दा बढी बजेट मौज्दात छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार सरकारको ढुकुटीमा अझै २९ अर्ब ७३ करोड ९९ लाख ५२ हजार ७१९ रुपैयाँ मौज्दात रहेको हो ।
यो तथ्यांक चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्मको हो । ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँ वार्षिक बजेट रहेको कर्णाली सरकारले पाँच महिनाको अवधिमा जम्मा ९.८७ प्रतिशत अर्थात् तीन अर्ब २५ करोड ६७ लाख रुपैयाँ बराबर रकम मात्रै खर्च भएको छ ।
विकास निर्माणसँग प्रत्यक्ष जोडिने पुँजीगत बजेटको खर्च अवस्था त झनै निराशाजनक छ । पुँजीगततर्फ कुल १९ अर्ब ९८ करोड २७ लाख १३ हजार रुपैयाँ बजेट विनियोजन गरिएकोमा मङ्सिर मसान्तसम्म जम्मा ८७ करोड नौं लाख १७ हजार २०७ रुपैयाँ खर्च भएको छ ।
यो कुल पुँजीगत बजेटको जम्मा ४.३६ प्रतिशत मात्रै हो । यता चालु (प्रशासनिक) तर्फ भने १२ अर्ब ३९ करोड ८९ लाख ४२ हजार रुपैयाँ बजेट रहेकोमा दुई अर्ब ३८ करोड ५७ लाख ८५ हजार अर्थात् १९.२४ प्रतिशत खर्च भएको छ । सरकारी ढुकुटीमा अर्बौं रकम थन्किरहँदा विकास निर्माणका कामहरू भने प्रभावित भइरहेका छन् ।
सत्यपाटी