२०८२ माघ ६ , मंगलबार 20, January 2026, Tuesday

३० वर्षसम्म बसेका पुरुषसहित अमेरिकाबाट ७५ नेपाली डिपोर्ट

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस ४ गते शुक्रबार

अमेरिकी सरकारले थप ७५ जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । चार्टर्ड विमानमार्फत बिहीबार ७५ जना नेपाली नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डिपोर्ट गरिएको हो । तीमध्ये तीन जना महिला छन् ।

उनीहरूलाई डिपोर्ट गरिएपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले सोधपुछ गरेको थियो । यसरी फर्काइएका नेपालीहरू दुई जना भिजिट भिसामा पुगेकाहरू समेत छन् । अन्य व्यक्तिहरू भने ‘तल्लो बाटो’ हुँदै अमेरिका पुगेकाहरू रहेको ब्युरो प्रमुख एवं एसएसपी कृष्ण पंगेनीले बताए ।

‘तल्लो बाटोबाट अमेरिका पुग्नेले कम्तीमा पनि २० लाख रुपैयाँ खर्च गरेको देखिएको छ । अधिकतम एक करोड रुपैयाँसम्म समेत खर्च गर्ने भेटियो,’ उनले भने । यसरी फर्काइएकामध्ये एक जना भने ३० वर्षसम्म बसेका व्यक्ति समेत रहेका छन् । फर्काइएका उनीहरूलाई प्रहरीले सात महिनासम्म हिरासतमा राखेको देखिएको छ ।

पछिल्लो सात वर्षमा ६६६ जना नेपाली नागरिकहरू फर्काइएका छन् । त्यसमध्ये अधिकांश व्यक्तिहरू अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि फर्काइएका हुन् । ‘धेरै त ट्रम्प प्रशासन आएपछि फर्काएको तथ्यांकमा देखिन्छ,’ उनले भने । ट्रम्प प्रशासनपछि ४०९ पुरूष र ३० महिलालाई फर्काइएको हो ।

प्रकाशित मिति : २०८२ पुस ४ गते शुक्रबार