२०८२ माघ ५ , सोमबार 19, January 2026, Monday

नेपालगन्जका सार्वजनिक स्थानमा छिट्टै आगो ताप्ने प्रबन्ध

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ पुस ४ गते शुक्रबार

चिसो बढन थालेपछि स्थानीय तहले नेपालगन्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध गर्न थालेको छ । चिसो बढेर शीतलहर सुरु भएपछि दुई दिनभित्रै सार्वजनिक स्थानमा दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था मिलाउन थालिएको नेपालगन्ज उपमहानगरपालिकाका विपद् सम्पर्क व्यक्ति दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

डिभिजन वन कार्यालय, बाँकेमार्फत विभिन्न सामुदायिक वनमा रहेका सुकेका दाउरा खरिद गरेर ल्याएर आगो ताप्नका लागि वितरण हुने जानकारी दिँदै उनले वडाको माग अनुसार दाउरा वितरण हुने बताए । ‘हामी अहिले छलफलमै छौँ, वडाको मागअनुसार कहाँ आवश्यकता पर्छ त्यहाँ वितरण हुन्छ,’ उनले भने । यसबाहेक चिसोबाट बच्नका लागि सचेतनामूलक प्रचार सामग्री निर्माण गरी स्थानीयलाई जानकारी दिइने सम्पर्क व्यक्ति श्रेष्ठले बताए ।

जिल्ला प्रशासन कार्यालय, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश गुरुङले विपद् प्रतिकार्य योजना निर्माण गरेर स्थानीय तह र सरोकार भएकालाई पत्राचार गरिएको जानकारी दिए । यसवर्ष बाँके जिल्लामा ३५ हजारभन्दा बढी परिवारका करिब एक लाख ८० हजार सर्वसाधारण शीतलहरबाट प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले २०८२ का लागि तयार गरिएको शीतलहर पूर्वतयारी तथा प्रतिकार्य योजनामा यस वर्षको चिसोमा शीतलहरबाट जिल्लामा ३५ हजार ५७२ परिवारका एक लाख ७९ हजार २२० सर्वसाधारण प्रभावित हुने पूर्वानुमान गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बाँकेका सबै स्थानीय तह शीतलहरबाट प्रभावित हुनसक्ने भएकाले त्यसको सबैभन्दा बढी प्रभाव सहरीभन्दा ग्रामीण क्षेत्रमा पर्ने बताए ।

उनले शीतलहरबाट नरैनापुर गाउँपालिका, राप्तीसोनारी गाउँपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिका र बैजनाथ गाउँपालिका सबैभन्दा बढी प्रभावित हुने उल्लेख गर्दै नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकामा अन्य पालिकाभन्दा कम प्रभावित हुने अनुमान गरिएको जानकारी दिए ।

शीतलहर पूर्वतयारी तथा प्रतिकार्य योजनामा गरिएको पूर्वानुमान अनुसार शीतलहरबाट नेपालगञ्जमा आठ हजार ५२४ परिवारका ४२ हजार ६२०, कोहलपुर नगरपालिकामा चार हजार १३८ परिवारका २० हजार ६९४ जना, खजुरा गाउँपालिकाका तीन हजार १९३ परिवारका १५ हजार ९६७ जना, जानकी गाउँपालिकाका तीन हजार ८८९ परिवारका १९ हजार ४४८ जना प्रभावित हुने अनुमान छ ।

त्यस्तै, बैजनाथ गाउँपालिकाका तीन हजार ५२० परिवारका १७ हजार ६०३ जना, राप्तीसोनारी गाउँपालिकाका तीन हजार ८७२ परिवारका १९ हजार ३६३ जना, नरैनापुर गाउँपालिकाका चार हजार २१८ परिवारका २२ हजार १३४ जना, डुडुवा गाउँपालिकाका चार हजार २१८ परिवारका २१ हजार ९१ जना शीतलहरबाट प्रभावित हुने पूर्वानुमान छ । बाँके जिल्ला गर्मीमा अत्यधिक गर्मी हुने, लू चल्ने तथा जाडो मौसममा शीतलहर चलेर अत्यधिक जाडो हुने जिल्लामा पर्दछ ।

प्रकाशित मिति : २०८२ पुस ४ गते शुक्रबार