२०८२ माघ १ , बिहीबार 15, January 2026, Thursday

बाँकेमा कार्यरत विवादास्पद दुई जना सई प्रहरी हेडक्वाटरको छानविनमा

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ पुस ४ गते शुक्रबार

बाँके जिल्लामा विगत लामो समयदेखि कार्यरत रहँदै आएका सई विष्णु शाही र सञ्जित केसी छानबिन प्रक्रियामा तानिएका छन् । प्रहरी प्रधान कार्यालयमा उजुरी परेपछि उनीहरूमाथि प्रारम्भिक अनुसन्धान सुरु गरिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले निष्पक्ष र पारदर्शी छानबिन सुनिश्चित गर्न सम्बन्धित दुवै प्रहरी कर्मचारीलाई आवश्यक कागजात तथा स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । छानबिनको क्रममा तथ्य र प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ ।

यस घटनाले प्रहरी संगठनभित्र अनुशासन, जवाफदेहिता र आन्तरिक सुशासनलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । छानबिन सम्पन्न भएपछि मात्र अन्तिम निष्कर्ष गरिने प्रहरी प्रधान कार्यालयले स्पष्ट पारेको छ । बाँके बसपार्क पोष्टको प्रमुख हुँदा विष्णु शाहीको धेरै उजुरी र गुनासो मुख्यालयमा परेको थियो ।

बर्दिया जिल्लामा दरबन्दी भए पनि उनी सई दर्जाको लागि बाँकेका आकर्षक चौकीहरूमा बस्न सफल भएका थिए । हालका प्रहरी प्रमूख दानबहादुर कार्की लुम्बिनी प्रदेशको डिआइजी हुँदा शाहीलाई बर्दिया दरबन्दीमा पठाएका थिए ।

पछि कार्कीको बढुवा भएर काठमाडौं फर्केसँगै उनी बाँके फर्किएर अतिरिक्त कमाई हुने बसपार्क प्रहरी पोष्टको प्रमुख भएका थिए । उनलाई बिघटित प्रतिनिधिसभाका सदस्य किशोरसिंह राठौर र बाँके प्रहरीमा रातो क्यापको नामले चिनिने एक बिचौलियाले बसपार्क पठाएका थिए ।

विष्णु शाहीविरुद्ध धेरै उजुरी तथा गुनासाहरू प्रहरी प्रधान कार्यालयमा दर्ता भएका छन् । विभिन्न व्यक्ति तथा सरोकारवाला पक्षहरूले उनको कार्यशैली र जिम्मेवारी निर्वाहसम्बन्धी विषयमा लिखित तथा मौखिक उजुरी दिएको स्रोतले जनाएको छ ।

सई सञ्जित केसी सहायक निरीक्षक (असई) पदमा प्रवेश गरेदेखि हालसम्म बाँके जिल्ला नै आफ्नो कार्यक्षेत्र बनाउँदै आएका छन् । केही समयका लागि गणमा कार्यरत रहे पनि अधिकांश समय उनी जिल्ला प्रहरी कार्यालयको घुमुवा प्रहरीका रूपमा तथा लागूऔषध नियन्त्रण ब्युरो अन्तर्गत सिभिल ड्युटीमा खटिँदै आएका थिए ।

विशेषगरी २०७३ सालदेखि निरन्तर रूपमा बाँके जिल्लामै सिभिल प्रहरीका रूपमा कार्यरत रहँदै आएको देखिन्छ । यति लामो समय एउटै जिल्लामा, त्यो पनि घुमुवा प्रहरीको जिम्मेवारीमा रहँदा उनी बाँकेका तस्कर, व्यापारी, गुण्डा, क्रसर उद्योगका सञ्चालकदेखि लिएर विभिन्न किसिमका अवैध गतिविधिमा संलग्न व्यक्तिसम्मसँग परिचित छन् ।

स्थानीयस्तरमा उनीमाथि विभिन्न व्यक्ति र समूहसँग नजिकको सम्बन्ध रहेको आरोपसमेत लाग्दै आएको छ । प्रहरी संगठनको दृष्टिकोणबाट हेर्दा, एउटै कर्मचारीलाई लामो समयसम्म एउटै जिल्लामा, विशेषतः घुमुवा तथा सिभिल ड्युटीमा राखिनु संगठनकै लागि जोखिमपूर्ण र घातक हुन सक्छ ।

यसले संस्थागत निष्पक्षता, व्यावसायिकता र जनविश्वासमा नकारात्मक असर पार्ने सम्भावना रहन्छ । तर पनि विगतका प्रहरी नेतृत्वले यस्तो संवेदनशील विषयलाई पर्याप्त ध्यान नदिई उनलाई निरन्तर सोही जिम्मेवारीमा राख्दै आएको देखिन्छ ।

यद्यपि, हालका प्रहरी प्रमूख दानबहादुर कार्कीको नेतृत्वमा विवादास्पद रूपमा चर्चामा रहेका सई सञ्जित केसीलाई छानबिनका लागि प्रहरी प्रधान कार्यालय तानिएको छ । यस कदमलाई प्रहरी संगठनभित्र अनुशासन, जवाफदेहिता र सुधारको संकेतका रूपमा हेरिएको छ । प्राप्त उजुरीहरूका आधारमा प्रहरी प्रधान कार्यालयले प्रारम्भिक अध्ययन तथा छानबिन प्रक्रिया अघि बढाएको छ ।

छानबिनको क्रममा सम्बन्धित कागजात, प्रमाण तथा स्पष्टीकरण संकलन गरिने जनाइएको छ । प्रहरी संगठनले अनुशासन, पारदर्शिता र जवाफदेहिता कायम राख्न कुनै पनि उजुरीलाई गम्भीरतापूर्वक लिने नीति अवलम्बन गर्दै आएको छ । छानबिन पूरा भएपछि आवश्यक निर्णय र कारबाही प्रक्रियाबारे जानकारी सार्वजनिक गरिने बताइएको छ ।

प्रकाशित मिति : २०८२ पुस ४ गते शुक्रबार