राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामछिाने थुनामुक्त प्रक्रियाका लागि भैरहवा आउन लाग्दा मौसम खराबीका कारण काठमाडौंमै अड्किएका छन् । रुपन्देहीको भैरहवा विमानस्थलमा हुस्सु लागेर विमान आउन नसक्दा लामिछाने काठमाडौँमै रोकिएका हुन् ।
बिहान साढे ८ बजे नै त्रिभुवन विमानस्थल पुगेका लामिछाने भैरहवा विमानस्थल नखुलेका कारण काठमाडौँमै रोकिएका छन् । फस्ट फ्लाइटमै रुपन्देही ल्याउने तयारी भए पनि विमानस्थलमा हुस्सु लागेका कारणले ढिलाइ भएको लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले बताएका छन् ।
उनका अनुसार विमानस्थल खुलेपछि आएर जिल्ला अदालत उपस्थित हुनेछन् । विमानस्थल खुल्न अझै समय लाग्न सक्ने रुपन्देहीका प्रहरीहरु बताउँछन् । प्रहरीका अनुसार भिजिवलिटी अहिले निकै कम छ, अब घाम लागेपछि मात्रै खुल्नेछ । सामान्यता भिजिवलिटी १८०० हुनुपर्ने भए पनि अहिले जम्मा १२०० मात्रै रहेको छ ।
मौसम खराबीका कारण विमानस्थल हालसम्म नखुलेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए । ‘बाक्लो हुस्सु लागेकोले विमानस्थल बन्द हुँदा आज यहाँबाट विमान उडान अवतरण भएको छैन,’ उनले भने, ‘मौसममा सुधार भएपछि विमानस्थल खुल्ला हुन्छ । जसका लागि केही समय लाग्न सक्छ ।’
उच्च अदालत बुटवलले हिजो लामिछानेलाई बैंक ग्यारेन्टीमा छाड्ने आदेश दिएको थियो । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई बिहीबार उच्च अदालत बुटवल तुलसीपुर इजालसका न्यायाधीशद्धय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले विभिन्न सर्तहरूसहित लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।
प्रक्रिया पुरा गरेर थुनामुक्त गर्न उनलाई काठमाडौंको नख्खु कारागारबाट विमानमार्फत जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराउनका लागि ल्याउन लागिएको हो । जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालका अनुसार लामिछानेले आज निवेदन दिनेछन् । त्यसपछि जम्मा भएको दुई करोड ७४ लाख रकम बैंक प्रतिनिधिले बुझ्ने र रविलाई कागज गराएर छाडिने अर्यालले बताए ।
सत्यपाटी