बंगलादेशमा सन् २०२४ मा मच्चिएको विद्यार्थी नेतृत्वको जुलाई आन्दोलनका प्रमुख योद्धा तथा इन्किलाब मञ्चका प्रवक्ता शरिफ उस्मान हादी को सिंगापुरमा उपचारका क्रममा मृत्यु भएको छ । उनीमाथि गत डिसेम्बर १२ मा ढाकाको पुरानो पल्टन क्षेत्रमा मोटरसाइकलमा आएका अज्ञात आक्रमणकारीहरूले टाउकोमा गोली हानेका थिए ।
गम्भीर घाइते भएका हादीले ६ दिनसम्म जीवन–मृत्युसँग संघर्ष गरे पनि बिहीबार राति सिंगापुर जनरल अस्पतालमा निधन भएको सिंगापुरको विदेश मन्त्रालयले पुष्टि गरेको छ । हादीको मृत्युको खबर फैलिएसँगै बंगलादेशमा शोक, आक्रोश र विरोध प्रदर्शनको लहर चलेको छ । राजधानी ढाकाको शाहबाग चोकमा हजारौं विद्यार्थी र सर्वसाधारण भेला भई न्यायको माग गर्दै प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरूले भारतविरोधी नारा लगाएका छन् र आक्रमणकारीहरू भारत भागेको आरोप लगाउँदै भारत सरकारसँग समन्वय गरेर फर्काउने माग गरेका छन् । साथै प्रदर्शन हिंसात्मक बन्दा राजधानीको करवान बजार क्षेत्रमा रहेको बंगाली दैनिक ‘प्रोथोम आलो’को कार्यालयमा तोडफोड र आगजनी भएको छ ।
को थिए हादी ?
शरिफ उस्मान हादी जुलाई आन्दोलनका अग्रपंक्तिका नेता थिए । यो आन्दोलनले अगस्ट २०२४ मा तत्कालीन प्रधानमन्त्री शेख हसिनाको आवामी लिग सरकारलाई सत्ताच्यूत गरेको थियो । हादी इन्किलाब मञ्चका प्रवक्ता तथा आह्वायक थिए र शेख हसिना तथा भारतविरोधी कट्टर अभिव्यक्तिका लागि चर्चित थिए ।
उनी आगामी फेब्रुअरी १२ मा हुने संसदीय चुनावमा ढाका–८ बाट स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा थिए र चुनावी अभियानका क्रममा नै आक्रमण भएको थियो । हादीको नेतृत्वमा इन्किलाब मञ्चले आवामी लिगमाथि प्रतिबन्ध लगाउने अभियान चलाएको थियो । उनी जुलाई आन्दोलनका ‘निडर योद्धा’ र ’क्रान्तिकारी’का रूपमा चिनिन्थे ।
अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसको प्रतिक्रिया र राष्ट्रिय शोक
हादीको मृत्युपछि अन्तरिम सरकारका प्रमुख सल्लाहकार (चिफ एडभाइजर) मोहम्मद युनुसले राष्ट्रलाई सम्बोधन गर्दै हादीको मृत्युलाई ‘राष्ट्रको अपूरणीय क्षति’ भनेका छन् । उनले हादीलाई ‘जुलाई आन्दोलनका निडर अग्रपंक्तिका योद्धा’ भन्दै हत्याराहरूलाई कुनै हालतमा नछाड्ने र चाँडै न्याय दिलाउने वाचा गरेका छन् । युनुसले शनिबार एक दिनको राष्ट्रिय शोक घोषणा गरेका छन् ।
यस दिन सबै सरकारी, अर्धसरकारी, स्वायत्त कार्यालय, शैक्षिक संस्था र निजी भवनहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । विदेशस्थित बंगलादेशी दूतावासहरूमा पनि आधा झण्डा फहराइने छ । युनुसले हादीकी पत्नी र एकमात्र सन्तानको आर्थिक जिम्मेवारी सरकारले लिने घोषणा गरेका छन् । उनले नागरिकहरूलाई शान्ति र संयम कायम राख्न अपिल गर्दै हत्याको छानबिनमा सहयोग गर्न आग्रह गरेका छन् ।
सत्यपाटी