बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका नवजात शिशु जीवितै पाइएको घटनामा अस्पताल प्रशासनले आफ्नो कमजोरी स्वीकार गर्दै सार्वजनिक रूपमा माफी मागेको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीले विज्ञप्ती जारी गर्दै उक्त संवेदनशील घटनाप्रति अस्पताल परिवारका तर्फबाट गहिरो दुःख र परिवारजनप्रति सहानुभूति प्रकट गरेका हुन् । विज्ञप्तीमा चिकित्सक र स्वास्थ्यकर्मीका तर्फबाट सूचना प्रवाह र परामर्श (काउन्सिलिङ) मा कमजोरी भएको स्वीकार गरिएको छ ।
‘बिरामीका आफन्तहरूलाई सम्भावित परिणामका बारेमा हुनुपर्ने प्रभावकारी सञ्चार र परामर्शमा भएको कमी कमजोरीप्रति अस्पताल प्रशासन प्रतिबद्धताका साथ सुधार गर्ने बाचा गर्दछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ । अस्पतालका अनुसार गत मंसिर २५ गते सुत्केरी व्यथा लागेर एक गर्भवती महिला अस्पतालको लेबर कक्षमा भर्ना भएकी थिइन् ।
मंसिर २८ गते उनले शिशुलाई जन्म दिएकी थिइन् । जन्मिएका शिशुको तौल मात्र ६१७ ग्राम रहेको र स्वास्थ्य अवस्था अत्यन्तै नाजुक देखिएको थियो । चिकित्सकले शिशुमा जीवनको कुनै संकेत (ढुकढुकी र श्वासप्रश्वास) नदेखिएको भन्दै ‘मृत’ घोषणा गरी शव आफन्तलाई जिम्मा लगाएका थिए ।
तर, परिवारले घर लैजाँदै गर्दा करिब चार घण्टापछि शिशुमा एकाएक चहलपहल र जीवित रहेको संकेत देखिएको थियो । तत्कालै शिशुलाई पुनः अस्पताल पुर्याएर उपचार सुरु गरिए पनि अन्ततः मंसिर २९ गते ती शिशुको मृत्यु भएको अस्पतालले जनाएको छ ।
चिकित्सकीय व्याख्या, ‘लाजारस फेनोमेनन’
अस्पतालले यस घटनालाई चिकित्सा विज्ञानको एउटा दुर्लभ अपवादका रूपमा व्याख्या गरेको छ । विज्ञप्तिमा उल्लेख भएअनुसार २३ हप्तामा जन्मिएका र एक किलोभन्दा कम तौल भएका शिशुको बाँच्ने सम्भावना न्यून रहन्छ ।
चिकित्सकहरूका अनुसार यस्तो अवस्थामा ‘सस्पेन्डेड एनिमेसन’ वा ‘लाजारस फेनोमेनन’ देखिन सक्छ, जसमा मृत ठानिएको शरीरमा केही समयपछि पुनः जीवनको संकेत देखा पर्दछ ।
अस्पतालले आफ्नो क्षमताअनुसार उपचारमा अधिकतम प्रयास गरे तापनि परिवारसँगको संवाद र सम्भावित परिणामको पूर्वजानकारी गराउने प्रक्रियामा त्रुटि भएको भन्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता जनाएको छ ।
सत्यपाटी