२०८३ असोज २९ , बिहीबार 15, October 2026, Thursday

बर्दियाको जब्दीघाटमा नयाँ पुल बन्ने, छिट्टै ठेक्का

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार बर्दियाको जब्दीघाट पुलको अनुगमन गरेका छन् । उनले पुरानो पुलको मुद्दा लम्बिने भएको हुँदा नयाँ पुल निर्माण प्रक्रिया अगाडि बढिसकेको र छिट्टै नै पुलको ठेक्का हुने बताए ।

जब्दीघाटको पुलबारे धेरै अगाडिदेखि सुनिरहेको बताउँदै मन्त्री घिसिङले आफू मन्त्री हुनासाथ पुल निर्माणका लागि बहुबर्से स्रोत सहमतिका लागि मन्त्रालयले निर्णय गरेर योजना आयोग र अर्थ मन्त्रालयमा पठाइसकेको बताए । उनले अर्थ मन्त्रालयमा बहुबर्से ठेक्काको स्रोत सहमतिका लागि कार्यविधि बनाउनुपर्नेमा मन्त्रीपरिषद्ले कार्यविधि पास गरिसकेको जानकारी दिए ।

उनले भने, ‘अब अर्थ मन्त्रालयले स्रोत सहमति दिएपछि नयाँ पुल निर्माणका लागि ठेक्का प्रक्रिया सुरु हुन्छ, लामो समयसम्म पुल नबन्दा जनताले दुःख पाएको देखेर मलाई पनि दुःख लागेको छ ।’ पुरानो पुल प्राविधिक समस्याले गर्दा कानुनी झमेलामा फसेकाले नयाँ पुल निर्माणको प्रक्रिया थालिएको उनले उल्लेख गरे ।

बर्दियामा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सम्बन्धित मन्त्रालयसँग छलफल गरेर समस्या समाधानका लागि नीतिगत रूपमै अगाडि बढाउने उनले बताए । मन्त्रीसमक्ष आफ्ना कुरा राख्दै बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारूले धेरै मन्त्रीहरू आएर जब्दीघाटको पुल अनुगमन गर्दै बजेट विनियोजन गरे पनि कार्यान्वयन हुन नसकेको मन्त्री घिसिङलाई बताए । सरकारले अघिल्लो आर्थिक वर्षदेखि बजेट विनियोजन गर्दै आए पनि पुल निर्माण प्रक्रिया अझै सुरु भएको छैन ।

पुल निर्माणका लागि चालु आवमा ११ करोड रुपैयाँ विनियोजन गरेको छ । पुलको लागत एक अर्ब एक करोड २९ लाख रुपैयाँ हुने अनुमान गरिएको सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख नरेन्द्र भट्टले बताए । पप्पु कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएर निर्माण भई हस्तान्तरण नहुँदै विसं २०७४ को बाढीका कारण पुल भासिएपछि स्थानीयवासीको खुसी निराशामा परिणत भएको थियो ।

पुल भासिए पनि जोखिम मोलेर साना सवारीसाधन र पैदल यात्रा भइरहेकोमा २०७९ को बाढीले पुललाई पूर्ण रूपमा बगाएपछि स्थानीयवासी डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । मन्त्री घिसिङले बर्दियामा कर्णाली नदी तटबन्ध, सिँचाइ, पुललगायतका विभिन्न स्थानको अनुगमन गर्नुभएको थियो भने बर्दियाका दौलतपुर र कैलालीको टीकापुर जोड्ने झोलुङ्गे पुल शिलान्यास गरेका थिए ।

प्रकाशित मिति : २०८२ पुस ४ गते शुक्रबार