२०८२ माघ ५ , सोमबार 19, January 2026, Monday

भेरी अस्पतालमै नवजात शिशुको सिकलसेल परीक्षण निःशुल्क

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ पुस ४ गते शुक्रबार

भेरी अस्पताल नेपालगन्जमा नवजात शिशुको सिकलसेल एनिमियाको निःशुल्क परीक्षण हुने भएको छ । यसअघि एक वर्षको बच्चाको परीक्षण गरेर सिकलसेल थाहा पाउने उपकरण अस्पतालमा थियो ।

अहिले नयाँ र अत्याधुनिक उपकरण ल्याइएको बताउँदै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीले योसँगै बच्चा जन्मेको २४ घण्टामा सिकलसेल परीक्षण गरी रिर्पोट लिन सकिने जानकारी दिए ।

उनले प्रदेश सरकारले विसं २०७९ मा खरिद गरेको उक्त उपकरण बुटवलबाट ल्याएर सञ्चालन गरिएको उल्लेख गर्दै पछिल्लो दुई दिनमा चार जना नवजात शिशुको परीक्षण भएको जानकारी दिए ।

उनका अनुसार यो उपकरण पहिलो पटक भेरी अस्पातलमा सञ्चालनमा ल्याइएको हो । ‘योसँगै भेरी अस्पतालमा पहिलोपटक नवजात शिशुको सिकलसेल परीक्षण निःशुल्क गर्नेछौँ,’ डा सुवेदीले भने ।

उनका अनुसार यसबाहेक भेरी अस्पताल नेपालगन्जमा सिकलसेल एनिमियाका लागि १६ शय्याको सिकलसेल वार्ड सञ्चालनमा ल्याइएको छ । बिरामीको रगत परीक्षणका लागि ‘डेकेयर’ सेन्टर पनि सञ्चालनमा रहेको मेसु सेवेदीले जानकारी दिए ।

भेरी अस्पतालका सिकलसेल सम्बन्धी जानकार डा.राजन पाण्डेले यो रोग समयमा पत्ता नलाग्दा कतिपय नवजात शिशुको अकालमा ज्यान जाने गरेको उल्लेख गरे । उनले नवजात शिशुमा सिकलसेल देखिए तीन महिनापछि पाँच वर्षसम्म थप खोप र औषधि सेवन गराउनुपर्ने जानकारी दिए ।

डा.पाण्डेले समयमा समस्या पत्ता लाग्दा उपचार सुरु गर्न सकिने जानकारी दिँदै भने, ‘बच्चा जन्मेको २४ घण्टामा परीक्षण गरेर समस्या छ वा छैन निश्चित गर्न सकिन्छ । यो सहज र प्रभावकारी विधि भएकाले ढुक्क भएर शिशुको परीक्षण गर्न र गराउन सकिन्छ ।’

थारु समुदायमा जनस्वास्थ्यको समस्याका रूपमा रहेको सिकलसेल अन्य जातिमा पनि भेटिने गरेको बताउँदै डा.पाण्डेले भेरी अस्पतालमा जन्मने बच्चाका अभिभावकको अनुमतिमा निःशुल्क परीक्षण हुने बताए ।

बच्चा जन्मदै सिकलसेल देखिएमा नौ महिना भएपछि पहिलो दादुरारुबेला खोप लगाउनाले समयमा पुनः परीक्षण गरी सिकलसेल, बिटा थालेसेमिया लगायत अन्य हेमोग्लोबिनोप्याथी भए नभएको थप पुष्टि गर्न सकिने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

डा.पाण्डेले सिकलसेल, थालेसिमिया नियन्त्रण, न्यूनीकरणका लागि जनचेतना आवश्यक रहेकामा जोड दिँदै पश्चिम नेपालमा सिकलसेलको समस्या थारुबाहेक अन्य समुदायमा पनि विस्तारै देखिन थालेको जानकारी दिए ।

प्रकाशित मिति : २०८२ पुस ४ गते शुक्रबार