२०८२ माघ ५ , सोमबार 19, January 2026, Monday

अमेरिकाबाट एकैपटक ७५ जना नेपाली ‘डिपोर्ट’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस ३ गते बिहीबार

अमेरिकी अध्यागमनले एकैपटक ७५ जना नेपालीलाई ‘डिपोर्ट’ गरेको छ । गैरकानुनी रूपमा अमेरिका बसोबास गर्दै आएका उनीहरूलाई बिहीबार अपरान्ह काठमाडौं ल्याइपुर्‍याएको हो । उनीहरू ओमनी इन्टरनेशन एयरको विमानबाट काठमाडौं उत्रिएका हुन् ।

अमेरिकी सरकारले निष्कासित भएका ७५ जनालाई विमान चार्टर्ड गरेर काठमाडौं पठाएको हो । अमेरिकाको अध्यागमनले उनीहरूलाई विभिन्न समयमा पक्राउ गरेको थियो । निष्काशन गर्ने तयारी भएपछि अमेरिकी अध्यागमनले वासिङटन डीसीस्थित नेपाली दूतावासलाई उनीहरूको बारेमा पत्राचार गरेको थियो ।

‘गैरकानुनी रूपमा अमेरिकामा बसेर त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई नेपाल डीपोर्ट गरिएको रहेछ । अमेरिकाले अवैध नेपालीहरूलाई फर्काउने क्रम जारी राखेको छ,’ डीसीस्थित दूतावास स्रोतले बतायो । उक्त स्रोतका अनुसार अझैं पनि केही नेपालीहरू अमेरिकी अध्यागमनको हिरासतमा रहेका छन् ।

डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकाको आप्रवासन सम्बन्धी नीति परिवर्तन भएको थियो । राष्ट्रपति ट्रम्पले आप्रवसन सम्बन्धी नयाँ कार्यकारी आदेश जारी गरेर गैरकानुनी रूपमा बसोबास गर्ने आप्रवासीमाथि धरपकड गर्दै आएको छ ।

प्रकाशित मिति : २०८२ पुस ३ गते बिहीबार