नेकपा (एमाले)को ११औँ महाधिवेशन बिहीबार (पुस ३) सम्पन्न भएको छ । कुल २२६३ मतदातामध्ये ३६ जना अनुपस्थित भए । यो निर्वाचनले मिश्रित परिणाम देखाए पनि मूल नेतृत्व र बहुमत भने केपी शर्मा ओलीकै निरन्तरता देखिएको छ ।
प्राध्यापक कृष्ण पोखरेल नेकपा (एमाले)को जेनजी आन्दोलनपछि आफूलाई संगठित गरे पनि नेतृत्व रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरणको मुद्दामा भने चुकेको बताउँछन् । त्यसले एमालेलाई आगामी निर्वाचनमा कठिन अवस्था आउन सक्ने उनको आकलन छ ।
‘जेनजी आन्दोलनले गर्दा पार्टीभित्र जुन हताशाको स्थिति थियो त्यसलाई चिर्दै आफूलाई पुनर्ताजगी गरेर अगाडि आउन खोज्यो,’ प्रा पोखरेलले भने, ‘नेतृत्व रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरणको जुन आजको माग थियो, यी कुरालाई एमालेले पूर्णतया अनदेखा गरेको देखियो ।’
पोखरेलले एमालेले आफूलाई अग्रगामी पार्टीका रूपमा उभ्याउन नसकेको बताए । ‘फर्वाड लुकिङ दृष्टिकोण यो पार्टीमा देखिएन, पुरानै राग अलापेर अगाडि बढ्न खोजेको देखिन्छ,’ पोखरलले भने, ‘जसको मूल्य (जेनजी प्रदर्शनपछि जनताको मथिंगल खल्बलिएको अवस्था छ । आगामी निर्वाचनमा एमालेलाई महँगो पर्न सक्छ ।’
ओलीले नचाहँदा नचाहँदै पनि आन्तरिक लोकतन्त्र र प्रतिस्पर्धाको अभ्यास भएको भन्दै यसअघिकै शैली कायम रहे आन्तरिक लोकतन्त्रमा भने सुधार नआउने पोखरेलको बुझाइ छ । उनी बहुमतको निरंकुशता लाद्ने काम जारी रहेमा आन्तरिक लोकतन्त्र फेरि पनि संकटमा पर्ने बताउँछन् ।
साथै, उनले गत भदौको विधान महाधिवेशनमा संशोधन गरेको विधान पुनः पार्टीभित्रको प्रतिपक्षको असहमतिमै संशोधन गर्ने निर्णयलाई बहुमतको निरंकुशताका रूपमा अथ्र्याए । ‘अहिले पनि ओलीले चाहेर प्रतिस्पर्धा गर्ने अवस्थामा पुगेको होइन, सर्वसम्मति नै उत्कृष्ट लोकतन्त्र हो भन्ने थियो,’ पोखरेलले भने । तर, परिस्थिति यसरी अघि बढ्यो कि त्यसलाई उनले रोक्न नसक्ने अवस्था बनेको उनले बताए ।
पोखरेलले भने, ‘यसले प्रतिस्पर्धाको राजनीति एमालेमा पुनस्र्थापित भयो भन्ने सन्देश दिएको छ ।’ उनी अब पनि बहुमतको निरंकुशता चलाउने ओलीको अभ्यास कायम रहेमा आन्तरिक लोकतन्त्र भने पुनर्जीवित हुन नसक्ने बताउँछन् । फरक प्यानलबाट पनि केही पदाधिकारीको प्रवेश देखिएकाले ओलीको मात्र चाहनामा एमाले चल्दैन भन्ने सन्देश पनि जाने उनको बुझाइ छ ।
सत्यपाटी