बाँकेमा ९९३ जनाको फोटोसहितको मतदाता नामावलीमा दोहोरो नाम फेला परेको छ । जिल्लाका नेपालगन्ज उपमहानगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा मतदाता नामावलीमा दोहोरो नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीले जानकारी दिए ।
उनले त्यसमध्ये सबैभन्दा बढी नेपालगन्ज र सबैभन्दा कम कोहलपुर नगरपालिका रहेकोले नाम दर्ताको रेकर्ड जिल्लामा नभएकाले दर्तामा दोहोरोपना देखिएको बताए । ‘हामीले दर्ता गरेर केन्द्रमा पठाएपछि मात्रै थाहा पायौँ । हाल नाम अद्यावधिक गर्ने कार्य जारी रहेको छ । मतदाता नामावलीको दोहोरो नाम हटाउने काम पुस ५ गतेसम्म जारी रहनेछ,’ शाहीले भने ।
यसैबिच बाँकेमा २३ वटा मतदान केन्द्र थप हुने सम्भावना देखिएको छ । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयलाई जनसङ्ख्याका आधारमा निर्वाचन केन्द्र थप हुने जानकारी गराए अनुसार जिल्लामा केन्द्र थप हुनसक्ने निर्वाचन अधिकारी शाहीले जानकारी दिए । उनले भने, ‘यसमा केही तलमाथि हुन सक्छ, तर अन्तिम निर्णय १२ गतेपछि मात्रै हुन्छ ।’
यससँगै जिल्लामा मतदान केन्द्रको सङ्ख्या ४०४ पुग्ने छ । यसअघि जिल्लामा ३८१ मतदान केन्द्र रहेका थिए । हाल जिल्लामा राप्तीसोनारी गाउँपालिका–२ को अगैयामा नयाँ मतदानस्थल थप भएको र चार वटा स्थानान्तरण भएको कार्यालयले जनाएको छ ।
सत्यपाटी