२०८२ माघ ८ , बिहीबार 23, January 2026, Friday

महासचिवको पद नपाएर रुदै बाहिरिएका प्रदीप ज्ञवाली फेरि ओलीकै शरणमा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस १ गते मंगलबार

नेकपा (एमाले)का प्रभावशाली नेता प्रदीप ज्ञवाली फेरि अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिएका छन् । एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु हुन लाग्दै गर्दा ज्ञवालीले ओली नेतृत्वको सम्पूर्ण टिमलाई विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूलाई अपिल गरेका हुन् ।

सोमबार अध्यक्ष ओलीले शंकर पोखरेललाई महासचिवमा दोहोर्याउने निर्णय गरेपछि उक्त पदका मुख्य आकांक्षी रहेका ज्ञवाली ओलीसँग निकै असन्तुष्ट बनेका थिए । तर, आज सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि त्याग्दै उनले पार्टीको आन्तरिक जीवन र चुनौतीपूर्ण राष्ट्रिय राजनीतिका लागि ओलीको नेतृत्व अपरिहार्य रहेको उल्लेख गरेका छन् ।

ज्ञवालीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेकपा (एमाले) को आन्तरिक जीवनका लागि मात्र होइन, चुनौतीपूर्ण राष्ट्रिय राजनीतिकै लागि पनि दूरगामी अर्थ राख्ने यस महाधिवेशनबाट कमरेड केपी शर्मा ओलीले अगुवाइ गर्नुभएको सिङ्गो टिमलाई शानदार मतका साथ विजयी बनाउनुहुन सबै कमरेडहरूमा हार्दिक अपिल गर्दछु ।’

उच्च पदको दौडबाट बाहिरिएका ज्ञवालीले यसपटक पार्टी केन्द्रीय कमिटी सदस्य पदमा मात्र उम्मेदवारी दिएका छन् । उनले प्रतिनिधिहरूबाट ‘मन र मत’ दुवै पाउने विश्वास व्यक्त गर्दै पार्टीलाई वैचारिक स्पष्टता र राजनीतिक स्थिरताको मार्गमा अगाडि बढाउन ओली नेतृत्वको निरन्तरता आवश्यक रहेको बताएका छन् ।

प्रकाशित मिति : २०८२ पुस १ गते मंगलबार