२०८२ माघ ८ , बिहीबार 23, January 2026, Friday

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस १ गते मंगलबार

ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको कूल सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ रहेको छ । बबई सिँचाइ आयोजनाका ६, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधाम धनुषा अन्तरगतका १५ र सुनकोशी मरिनको एक गरी २२ वटा रुग्ण ठेक्का तोडिएको हो ।

भेरी बबईको एक करोड ७६ लाख रुपैयाँ बराबरको ठेक्का तोडिएको छ । जनकपुरधाम कार्यालय अन्तर्गतका १३ करोड १७ लाख रुपैयाँ बराबरको ठेक्का तोडिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।

त्यसपछि कार्यालयहरुले वर्षौंदेखि समस्याग्रस्त ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएका थिए । जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गत चालू ठेक्का २१५ छन् । त्यसमध्ये ३३ ठेक्का समस्याग्रस्त छन् । समस्याग्रस्तमध्ये हालसम्म २२ वटा तोडिएको विभागका महानिर्देशक मित्र बरालले जानकारी दिए । सिँचाइतर्फको सबैभन्दा ठूलो ठेक्का राष्ट्रिय गौरबको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको तोडिएको छ ।

आयोजनाको बाँध (हेडवक्र्स), विद्युतगृह लगायतका सिभिल संरचना, गेट लगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि निर्माण व्यवसायी पटेल—रमण जेभी, जनकपुर—९ धनुषासँगको ठेक्का सम्झौता तोडिएको हो । आयोजना निर्माणका लागि पटेल—रमण जेभीसँग १४ अर्ब आठ करोड रुपैयाँ (करसहित)मा ठेक्का सम्झौता भएको थियो ।

प्रकाशित मिति : २०८२ पुस १ गते मंगलबार