नेकपा एमालेको ११औँ महाधिवेशन अन्तरगत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदै छ । मध्याह्न १२ देखि साँझ ६ बजेसम्म मतदानका लागि समय तोकिएको छ । मतदानका लागि ८० विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने एमालेले जनाएको छ । १० वटा विद्युतीय भोटिङ मेसिन ‘ब्याकअप’मा राखिने भएको छ ।
एमालेले गत बिहीबार विद्युतीय भोटिङ मेसिन प्रयोगका लागि सम्झौता गरेको थियो । शुक्रबार विद्युतीय भोटिङ मेसिन एमाले पार्टी कार्यालय च्यासलमा राखेर नमुना भोटिङ समेत गरिएको थियो । महाधिवेशनमा १९ पदाधिकारीका निम्ति ४२ जनाले उमेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ ।
११ जना केन्द्रीय सदस्य निर्विरोध
एमालेको जारी ११ औँ राष्ट्रिय महाधिवेशन अन्तरगत नेतृत्व चयन प्रक्रियामा ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले सोमबार राति सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावली अनुसार विभिन्न समूहमा एकल उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।
लुम्बिनी प्रदेशबाट महिलातर्फ गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तीदेवी ढकाल निर्विरोध निर्वाचित भएका छन् । प्रदेशबाट महिला केन्द्रीय सदस्यमा तीन जना निर्वाचित हुने व्यवस्था अनुसार तीनै जनाको मात्र उम्मेदवारी परेकाले उनीहरू निर्विरोध भएका हुन् । यस्तै मधेशी क्लस्टरतर्फ युवामा अमरकुमार यादव निर्विरोध निर्वाचित भएका छन् ।
समावेशी समूह अन्तरगत मुस्लिम महिलातर्फ खाजिदा खातुन सिद्धकी, श्रमिक महिलातर्फ कमलादेवी श्रेष्ठ र सिता लामा निर्विरोध निर्वाचित भएका छन् । पिछडिएको क्षेत्र महिलातर्फ वदमीक्वारी बुढा, प्रवास दक्षिण एशियाबाट हरिप्रसाद घिमिरे तथा ४० वर्षमुनिको युवा केन्द्रीय सदस्यतर्फ नरेश रोकाया र सुशिलकुमार थापा पनि निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै पार्टीको अनुशासन आयोगको अध्यक्षमा प्रा.डा. भरतराज पहारी, उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा डा.राजेन्द्र घिमिरेको एकल उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित हुँदा २२ जना सदस्यमा भने ३२ जनाको उम्मेदवारी परेको छ । लेखा आयोगको अध्यक्षमा डा.पुष्पराज कँडेल, उपाध्यक्षमा धनेन्द्रराज घिमिरे र सचिवमा ईश्वरीप्रसाद खरेल पनि निर्विरोध भएका छन् ।
यद्यपि, निर्वाचन आयोगले उनीहरूको औपचारिक घोषणा गर्न भने बाँकी रहेको जनाएको छ । आयोगका अध्यक्ष डा.विजय सुब्बाद्वारा जारी प्रारम्भिक सूची अनुसार अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुने भएको छ। शक्तिशाली मानिने महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे चुनावी मैदानमा छन् ।
विधान अनुसार पाँच जना निर्वाचित हुने उपाध्यक्ष पदका लागि ११ जनाले उम्मेदवारी दिएका छन् भने तीन जना निर्वाचित हुने उपमहासचिव पदमा छ जनाको उम्मेदवारी परेको छ । सबैभन्दा बढी प्रतिस्पर्धा सचिव पदमा देखिएको छ, जहाँ नौ सिटका लागि २० जना नेताहरू मैदानमा उत्रिएका छन् । सचिव पदका उम्मेदवारहरूमा गोकुल बास्कोटा, महेश बस्नेत, पद्मा अर्याल, छविलाल विश्वकर्मा, खगराज अधिकारी, अग्नि खरेल, शेरधन राईलगायत रहेका छन् ।
सत्यपाटी