नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टी अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । सोमबार ओली र पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । ओलीले तेस्रो कार्यकालका लागि नेतृत्वमा उम्मेदवारी दिएका हुन् ।
दुई कार्यकाल अध्यक्ष भइसकेका ओलीले विधान संशोधन गराएर दुई कार्यकालको सीमितता सम्बन्धी प्रावधान र ७० वर्षे उमेरहदलाई खारेज गराएका थिए । पोखरेल भने १० औँ महाधिवेशनपछि वरिष्ठ उपाध्यक्ष पदमा रहँदै आएका छन् । उनले पनि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।
मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुँदै
एमालेको ११औँ महाधिवेशन अन्तरगत आज मतदान हुने भएको छ । नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुने भएको हो । निर्वाचन कार्यतालिका अनुसार मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुनेछ । महाधिवेशनस्थल भृकुटीमण्डपमा मतदान हुनेछ । महाधिवेशनमा १९ पदाधिकारीका निम्ति ४२ जनाले उमेदवारी दर्ता गराएका छन् ।
अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । केन्द्रीय निर्वाचन आयोगका अनुसार, पाँचजनाको उपाध्यक्षमा ११ जनाले उमेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा अरुण नेपाल, गुरुप्रसाद बराल, गोकर्णराज विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरुङ, पृथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा, डा.बिन्दा पाण्डे, विष्णुप्रसाद पौडेलको उमेदवारी छ ।
महासचिवमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे उमेदवार छन् । उपमहासचिव तीन जनामा सात जनाको उमदेवारी परेको छ । आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णुप्रसाद रिमाल र वैजनाथ चौधरीले उपमहासचिवमा उमेदवारी दिएका छन् ।
त्यस्तै, सचिवमा अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुरप्रसाद गैरे, पद्माकुमारी अर्याल, पुरुषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोदप्रसाद ढकाल, शेरधन राई, हिक्मतकुमार कार्कीको उमेदवारी परेको छ । सचिव नौजनामा २० जनाको उमेदवारी परेको हो ।
सत्यपाटी