२०८२ माघ २ , शुक्रबार 16, January 2026, Friday

बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ मंसिर २९ गते सोमबार

जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ । नौबस्स्ता बाल सुधार गृहका प्रमुख श्यामबहादुर रानाले जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते राति प्रहरीसँग भिडन्त गरेर ७८ जना बालबन्दी भागेकोमा हालसम्म ३८ जना मात्र पक्राउ परेको बताए ।

उनले अझै ४० जना बालबन्दी फरार रहेकोले उनीहरुको खोजी कार्य विभिन्न माध्यमबाट भइरहेको बताए । फरार भएका बालबन्दी लगायत सबै प्रकारका कैदीबन्दीलाई बाल सुधार गृह र कारागारमा फर्किनका लागि गत असोज २० गतेसम्मको समयसीमा दिइएको थियो । तर सो समयसीमा सकिएको लामो समय बिते पनि अझै पनि ४० जना बालबन्दी पक्राउ नपरेको नौबस्ता बाल सुधार गृहले जनाएको छ ।

भदौ २४ गते रवि लामिछाने नख्खु जेलबाट निस्केपछि देशभरिका कारागार र बाल सुधार गृहबाट अधिकांश कैदी बन्दीहरु भागेका थिए । सोही समयमा नौबस्ता बाल सुधार गृहबाट पनि ७८ जना बालबन्दी भागेका थिए । नौबस्ता बाल सुधार गृहबाट भाग्ने क्रममा प्रहरीले गोली प्रहार गर्दा अछामका २१ वर्षीय उमेश विष्ट, दाङका २० वर्षीय बिनेश घर्ती मगर, बाँकेका २० वर्षीय समीर थापा, दैलेखका २१ वर्षीय भूपेन्द्र खत्री र कैलालीका १९ वर्षीय जगत देउवा गरेर पाँच जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।

प्रकाशित मिति : २०८२ मंसिर २९ गते सोमबार