२०८२ माघ ६ , मंगलबार 20, January 2026, Tuesday

निर्वाचनका लागि नीति बनाउँदै सशस्त्र, सीमा क्षेत्रमा विशेष निगरानी

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर २७ गते शनिबार

सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षा, आन्तरिक शान्ति–सुरक्षा, राजश्व संरक्षण तथा विपद् व्यवस्थापनमा प्रभावकारी रुपमा काम गरेको दाबी गरेको छ । २०८० कार्तिक १ गतेदेखि सुरु गरिएको सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम तथा बोर्डर एरिया डेभलपमेन्ट प्रोगाममार्फत सीमा क्षेत्रमा सहकार्य, विकास र अपराध नियन्त्रणका विविध कार्यक्रम सञ्चालन गरिँदै आएको सशस्त्र प्रहरीले जनाएको छ ।

६३८ ठाउँमा धार्मिक स्थल, विद्यालय, खेलमैदान, बाटोघाटो, कुलो–पैनीको सरसफाइ तथा स्तरोन्नति, ६० स्थानमा यात्रु प्रतिक्षालय, धारा–ट्याङ्की, सार्वजनिक शौचालय तथा घर मर्मत, २५ प्रकारका सीपमूलक तालिम, १७ जिल्लामा, १७१ लाभग्राही, ४९ स्वास्थ्य शिविर, निःशुल्क औषधि तथा स्वास्थ्य सेवा वितरण, १७ स्थानमा शैक्षिक सामग्री तथा क्रीडा सामग्री वितरण, ६ स्थानमा सरसफाइ सामग्री वितरण, झापा र मुस्ताङबाट २ जनालाई नेपाल एपीएफ स्कुलमा छात्रवृत्ति प्रदान लगायत लागुऔषध, राजश्व चुहावट, आगलागी, अवैध गतिविधि तथा सीमा अपराधबारे दुई हजार ६०२ जनचेतनामूलक कार्यक्रम गरेको जनाएको छ ।

यसैगरी वडा अध्यक्ष तथा सीमावासीसँग ८६१ अन्तरक्रिया कार्यक्रम, १,०९५ सीमा सहजीकरण समिति बैठक संचालन, ३१० हेल्प डेस्क र ८ पर्यटक सहायता कक्ष सञ्चालन, सीमा क्षेत्रमा २४ घण्टा पैदल गस्ती निरन्तर संचालन गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । आर्थिक वर्ष २०८१–०८२ र २०८२–०८३ मा ६७ मुख्य, १९५ सहायक, २८५ साना, जम्मा ५४७ स्तम्भ मर्मत गरेको पनि जनाएको छ । पछिल्ला तीन आर्थिक वर्षमा भरुवा बन्दुक, कटुवा, पेस्तोल, एयरगनसहित उल्लेख्य संख्यामा हेभी तथा साना हतियार बरामद गरेको सशस्त्रले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षा, विकास सहकार्य, जनचेतना विस्तार, राजश्व संरक्षणदेखि लिएर विपद् व्यवस्थापनसम्मका विविध कार्यमा उल्लेखनीय प्रगति गर्दै राष्ट्रिय सुरक्षा तथा सेवा प्रवाहमा आफ्नो भूमिका झनै सुदृढ पारेको जनाएको छ । यसैगरी सशस्त्र प्रहरी बलले पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन परिचालन नीति तर्जुमा गरेको जनाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सशस्त्र प्रहरी बलले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सुरक्षा कार्यमा सशस्त्र प्रहरी बल नेपालको परिचालन नीति तर्जुमा गरिएको जनाएको हो ।

सबै निर्वाचन क्षेत्रहरुमा तोकिएको जिम्मेवारीमा परिचालन गरिने, निर्वाचन सुरक्षार्थ सुरक्षाको दोस्रो घेरामा रही अन्य सुरक्षा निकायसँग समन्वयात्मक रुपमा परिचालित हुने, निर्वाचन सुरक्षा अनुशिक्षण तालिम सम्बन्धी पाठ्यक्रम तयार गरी निर्वाचनमा खटिनुपूर्व सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई निर्वाचन सुरक्षा अनुशिक्षण तालिम दिनेलगायत नीतिमा उल्लेख छ । त्यस्तै क्युआरटीमा रहेको जनशक्तिलाई निर्वाचनको एकदिन अघिदेखि निर्वाचनको एकदिनपछिसम्म हातहतियार तथा अन्य आवश्यक साधनका साथ युनिटको जिम्मेवारी क्षेत्रमा पर्ने रणनीतिक स्थानमा सवारी साधनसहित परिचालन गर्ने सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ मंसिर २७ गते शनिबार