नेपाल प्रहरीले ठूलो संख्यामा भर्ना खुलाएको छ । प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा भर्ना खुलाएको हो । शुक्रबार विज्ञापन जारी गर्दै नेपाल प्रहरीले यी दुई पद (इन्सपेक्टर र असई) पदका लागि दरखास्त आह्वान गरेको छ ।
प्रहरीले प्रशासन गरेको विज्ञापन अनुसार इन्स्पेक्टरमा २१ जना र असईमा ४३८ जना कर्मचारी माग गरिएको छ । इन्स्पेक्टरका लागि पुस ६ गतेदेखि माघ ५ गतेसम्म दरखास्त दिन सकिनेछ भने असईका लागि पुस ९ गतेदेखि माघ ८ गतेसम्म दरखास्त दिन सकिने प्रहरीले जनाएको छ । दरखास्त फाराम अनलाइनमार्फत भर्न सकिनेछ ।
इन्सपेक्टरका लागि दरखास्त दस्तुर एक हजार २०० रुपैयाँ र समावेशीतर्फ पनि आवेदन दिँदा प्रत्येक समूहका लागि थप २४० रुपैयाँ लाग्नेछ । त्यस्तै, असईतर्फ दरखास्त दस्तुर ५०० रुपैयाँ र अन्य समूहमा आवेदन दिँदा प्रत्येक समूहका लागि थप १०० रुपैयाँ शुल्क लाग्नेछ ।
इन्स्पेक्टरका लागि १० वर्ष पूरा भई २५ वर्ष ननाघेको र असईका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेकोले आवेदन दिन सक्नेछन् । इन्स्पेक्टरका लागि न्यूनतम शैक्षिक योग्यता कम्तिमा स्नातक तह वा सो सरह उत्तीर्ण भएको हुनुपर्नेछ भने असईका लागि भने प्रमाण पत्र वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

सत्यपाटी