नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज मंसिर २६ गते शुक्रवार कुनै पनि खेल हुने छैन । फाइनल खेल शनिवार हुने भएको छ । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुर मैदानमा दिउँसो साढे ३ बजे सुरु हुनेछ । फाइनलमा उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन् ।
बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनी पहिलो पटक उपाधि नजिक पुगेको हो । अंक तालिकाको चौथो स्थानमा रहेर एलिमिनेटर खेलेको लुम्बिनीले काठमाडौँ गोर्खाजलाई चार विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।
गत संस्करणमा लिग चरणबाटै बाहिरिएको रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी यसपटक जसरी पनि ट्रफी हात पार्ने दाउमा छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दाबेदार टोली हो । गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग पाँच विकेटले पराजित भएको सुदूरपश्चिम यस पटक उपाधि जित्ने लक्ष्य राखेको छ ।
सत्यपाटी