२०८२ माघ ८ , बिहीबार 23, January 2026, Friday

हत्या आरोपमा लुम्बिनीका पूर्वमुख्यमन्त्री डिल्ली चौधरीका भाई पक्राउ

सत्यपाटीसत्यपाटी । बर्दिया । २०८२ मंसिर २५ गते बिहीबार

बर्दियाको राजापुरमा आइतबार गोली प्रहार गरी एक युवकको हत्या भएको घटनामा प्रहरीले लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीका भाइलाई पक्राउ गरेको छ । दाङका २८ वर्षीय निरज चौधरीको हत्या अभियोगमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–६ का ५१ वर्षीय महावीर चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका महावीर पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीका सहोदर भाइ हुन् । बर्दियाका निमित्त प्रहरी प्रवक्ता एवं इन्स्पेक्टर प्रकाशसिंह कार्कीका अनुसार महावीरलाई कैलालीको कैलारी गाउँपालिका–२ बाट नियन्त्रणमा लिइएको हो । प्रहरीले उनको साथबाट हत्यामा प्रयोग भएको एउटा पेस्तोल समेत बरामद गरेको छ ।

राजापुर–४ स्थित ‘हमार थारु घर एण्ड रेस्टुरेन्ट’ भित्र निरजको गोली हानेर हत्या गरिएको थियो । उक्त रेस्टुरेन्ट महावीरकै सालीको भएको खुलेको छ । दाङको तुलसीपुरबाट निरजलाई महावीरले नै बर्दिया लिएर गएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घटनाको मुख्य कारण अमेरिका जाने प्रलोभन र आर्थिक लेनदेन देखिएको छ ।

महावीर अमेरिकी ‘ग्रीन कार्ड’ वाहक हुन् । निरजले महावीरलाई अमेरिका जान भन्दै रकम बुझाएका थिए । तर, अमेरिकी आप्रवासी नीतिका कारण वा अन्य समस्याले महावीरले उनलाई अमेरिका पठाउन सकेका थिएनन् । लामो समयसम्म अमेरिका जान नपाएपछि निरजले पटक–पटक महावीरसँग आफ्नो पैसा फिर्ता माग्दै आएका थिए । पैसा फिर्ताको दबाब बढेपछि महावीरले निरजको हत्या गर्ने योजना बुनेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीका अनुसार हत्या आरोपी महावीर र मृतक निरज नातामा हजुरबुबा र नाति पर्छन् । आफ्नै नाति पर्ने व्यक्तिलाई पैसा फिर्ता गर्नुको साटो योजनाबद्ध रूपमा रेष्टुरेन्टमा लगेर गोली प्रहार गरेको देखिएको छ । प्रहरीले घटनास्थलबाट पासपोर्ट, भिसा र अमेरिकी डलर लगायतका कागजातहरू बरामद गरेको छ । पक्राउ परेका महावीरमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रकाशित मिति : २०८२ मंसिर २५ गते बिहीबार