२०८२ माघ ८ , बिहीबार 23, January 2026, Friday

नेपालगन्ज एउटै वडामा पाठेघर क्यान्सरका २८ जना शङ्कास्पद बिरामी

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ मंसिर २५ गते बिहीबार

नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ स्थित सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा आयोजना गरिएको निःशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविरमा २८ जना पाठेघरको क्यान्सरका शङ्कास्पद बिरामी भेटिएका छन् । १४१ जना महिलाको स्वास्थ्य परीक्षण गर्ने क्रममा ११२ जनाको परीक्षण गर्दा २८ जना पाठेघरको क्यान्सरका शङ्कास्पद बिरामी भेटिएका हुन् ।

नेपालगन्ज उपमहानगरपालिकाले आयोजना गरेको पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धी यौन तथा प्रजनन स्वास्थ्य शिविरमा परीक्षणका लागि आएका १४१ जना महिलामध्ये अधिकांशमा पाठेघर सम्बन्धी विभिन्न प्रकारका सङ्क्रमण देखिनुका साथै २८ जनामा पाठेघरको मुखको क्यान्सरको शङ्कास्पद अवस्था देखिएको नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत जागेश्वर बस्नेतले बताए ।

उनले सो शिविरमा ४३ जनाको पाठेघर सम्बन्धी एचपिभि डिएनए परीक्षण गरिएको जनाउँदै रिपोर्ट आउन बाँकी रहेको बताए । भेरी वातावरणीय विशिष्टता समूह बीग्रुप, ए.एफ.डी. र एम.डि.एम.फ्रान्सको सहयोगमा आयोजना गरिएको सो निःशुल्क स्वास्थ्य शिविरमा दुई जना महिलाको पाठेघर खस्ने समस्या देखिएकोले रिङ हालिएको तथा पाठेघरको शङ्कास्पद क्यान्सर देखिएका र अन्य सङ्क्रमण भएकाहरुलाई भेरी अस्पतालमा थप परीक्षण र उपचारका लागि रिफर गरिएको नेपालगन्ज उपमहानगर स्वास्थ्य महाशाखाले जनाएको छ ।

सो शिविरमा स्त्रीरोग विशेषज्ञहरु डा.प्रेरणा मलिक र डा.सजिप्ता पन्तले महिलाहरुको स्वास्थ्य परीक्षण गर्नुभएको थियो भने कन्सल्ट्यान्ट फिजिसियन डा.शङ्कर केसीले पनि उनीहरुको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा उपचारका लागि पुगेका अधिकांश महिलाले यो शिविरबाट आफूहरुलाई निकै लाभ र उपचारमा सहयोग भएको प्रतिक्रिया दिए । स्त्री रोग विशेषज्ञ डा.मलिकले शिविरमा आएका धेरै जना महिलाहरुमा पाठेघरको समस्या देखिएको जनाउँदै शिविरका कारण उनीहरुले समयमै उपचार सुरु गर्न सकेको बताए ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनीता पौडेल, जनस्वास्थ्य नर्स विष्णु श्रेष्ठ, परिवार नियोजन सुपरभाइजर निरीक्षक वसन्ती मल्ल, नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका स्वास्थ्य अधिकृत गोरखनाथ योगी र वरिष्ठ अनमी प्रेमकुमारी बिसीलगायतले स्वास्थ्य शिविरको अनुगमन गरेका थिए । शिविरमा बिग्रुपका उपाध्यक्ष मीरा खनाल, एमडिएम फ्रान्सका कार्यक्रम प्रबन्धक तर्कबहादुर थापा, ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’का संयोजक समद सिद्दिकी, बिग्रुपका स्वास्थ्य अधिकृत रुपक न्यौपाने लगायतको पनि सहभागिता थियो ।

प्रकाशित मिति : २०८२ मंसिर २५ गते बिहीबार