२०८२ माघ ६ , मंगलबार 20, January 2026, Tuesday

भन्सार एजेन्ट र विभागबीच सहमति, देशभरका भन्सार कार्यालय सञ्चालनमा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर २४ गते बुधबार

भन्सार ऐनमा समावेश कतिपय प्रावधानहरूमा असन्तुष्टि जनाउँदै भन्सार एजेन्ट महासंघ नेपालको आह्वानमा गरिएको विरोध कार्यक्रम ‘पेन डाउन’ फिर्ता भएको छ ।

गत साताबाट लागू भएको भन्सार ऐन, २०८२ जारी भएपछि त्यसमा राखिएको कतिपय प्रावधानहरूले भन्सािर एजेन्टहरूको पेशागत हकहित, काम गर्ने सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा समेत नकारात्मक असर पार्ने भन्दै मंसिर २३ गतेदेखि देशभरका भन्सार कार्यालयहरूमा ‘पेन डाउन’ गरिएको थियो ।

भन्सार एजेन्टहरूले कलम बिसाएर विरोधमा उत्रिंदा देशभर एकैचोटी राजश्व संकलनदेखि भन्सार जाँचपाससम्मका कामकारबाही प्रभावित भएका थिए । उनीहरूले विशेष गरी ऐनमा उल्लिखित दण्डजरिवाना सम्बन्धी प्रावधानमा संशोधन र केही संरचनागत सुधारको माग अघि सार्दै आन्दोलनमा उत्रिएका थिए ।

कहिलेकाहीँ प्रिन्टिङमा गल्ती हुँदासमेत भन्सार शुल्कको १० प्रतिशतसम्म जरिवाना लगाउने, न्यून बिजकीकरणमा अतिरिक्त जरिवाना लगाउने व्यवस्था गरिएपछि बाध्य भएर कलम बिसाएर आन्दोलनमा उत्रिनपरेको उनीहरूले बताएका थिए ।

उनीहरूको मागप्रति भन्सार विभाग सकारात्मक भई छलफलमा बोलाएको र महासंघले उठाएको माग सम्बोधन भएकाले पेन डाउन कार्यक्रम फिर्ता भएसँगै देशभरका भन्सार कार्यालयहरु पूर्ववत् रुपमा सञ्चालनमा आएको महासंघका अध्यक्ष प्राचिनकुमार श्रेष्ठले एक विज्ञप्ति मार्फत् जानकारी दिएका छन् ।

भन्सार विभागले पनि विज्ञप्ति जारी गर्दै महासंघका तर्फबाट विभिन्न मागहरू प्रस्तुत भएकोमा व्यवस्थापन सुधार गर्ने र विभाग–कार्यालयबाट सम्बोधन हुने प्रकृतिका मागहरू क्रमशः कार्यान्वयन गर्दै जाने एवं नियमावलीमा सम्बोधन गर्नुपर्ने उपयुक्त मागका विषयमा अर्थ मन्त्रालयमा अवगतार्थ पठाउने निर्णय र सहमति भएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ मंसिर २४ गते बुधबार