नेपाली कम्युनिष्ट पार्टी बाँकेले जिल्ला स्तरीय पार्टी एकता सन्देश सभा गर्ने भएको छ । सो पार्टीले भोलि मङ्सिर २५ गते जिल्ला स्तरीय एकता सन्देश सभा गर्ने गरी तयारी गरेको पार्टीका नेता अब्दुल हुसेन खाँले जानकारी दिए ।
उनका अनुसार नेपाली कम्युनिष्ट पार्टीले नेपालगन्जस्थित त्रिभुवन चोकमा पार्टी एकता सन्देश सभा गर्नेछ । पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतका केन्द्रीय नेताहरुको उपस्थितिमा एकता सन्देश सभा गर्न लागिएको हो ।
उक्त कार्यक्रममा व्यापक जनसहभागिता गराउने तयारी गरिएको नेता खाँलेले जानकारी दिए । देशभर एकताको सन्देश प्रवाह गर्न जिल्लामा एकता सन्देश सभा आयोजना गर्दै पार्टीले वाम ध्रुवीकरण तथा कम्युनिष्ट शक्तिबीच एकताको प्रारम्भ गरेको छ ।
नेपालमा दुईतिहाई जनमत कम्युनिष्टको भएको तर टुटफुटले समाजवादी क्रान्ति बाँकी रहेकाले त्यसकै लागि एकता अभियान थालिएको नेता खाँले बताए । उनले कम्युनिष्ट आन्दोलनको एकता र स्वाधीनताको रक्षा नेपाली कम्युनिष्ट पार्टीको विकल्प नभएको दाबी गरे ।

सत्यपाटी