२०८२ माघ ८ , बिहीबार 23, January 2026, Friday

आज ७७ औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर २४ गते बुधबार

मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज संसारभर ७७ औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । नेपालमा पनि यस दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ ।

अन्तरराष्ट्रिय मानव अधिकार दिवसमा अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, विभिन्न राजनीतिक दलले शुभकामना सन्देश दिएका छन् । सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेको मानव अधिकारको विश्वव्यापी घोषणापत्र (युडीएचआर)को स्मरणमा हरेक वर्ष यो दिवस मनाइन्छ ।

उक्त घोषणापत्रले जाति, धर्म, लिङ्ग, भाषा, विचार, सामाजिक मूल वा जन्मका आधारमा कुनै भेदभाव नगरी सबैलाई समान अधिकार सुनिश्चित गरेको छ । नेपालमा यस दिवसले जनचेतना विस्तार, अधिकारको संरक्षण र न्यायपूर्ण समाज निर्माणमा थप ऊर्जा प्रदान गर्दै आएको छ ।

मंगलबार मात्रै मानव अधिकार रक्षकहरूको अन्तरराष्ट्रिय दिवस मनाइएको छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८, मानव अधिकार रक्षक सम्बन्धी घोषणापत्र १९९८, नेपाल पक्षराष्ट्र भएको नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी महासन्धी, १९६६ मा प्रत्येक व्यक्तिको आफ्नो अधिकारका साथै अरूको अधिकारको लागि वकालत गर्न पाउने अधिकारको सुनिश्चितता गरिएको छ ।

नेपालको संविधानले विचार र अभिव्यक्तिको स्वतन्त्रता, स्वतन्त्रतापूर्वक भेला हुन पाउने स्वतन्त्रता र सङ्गठन खोल्न पाउने स्वतन्त्रताको अधिकारको सुनिश्चितता गरेको छ । नेपाल सरकारले मानव अधिकारकर्मीको सुरक्षा र संरक्षण गर्ने सम्बन्धी आदेश, २०७७ समेत जारी गरेको छ । यसै सन्दर्भमा सो दिवस मनाइएको हो ।

प्रकाशित मिति : २०८२ मंसिर २४ गते बुधबार