२०८२ माघ १ , बिहीबार 15, January 2026, Thursday

शीतलहरका बेला सवारी दुर्घटना कम गर्न ट्राफिक प्रहरीका ११ ‘टिप्स’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर २४ गते बुधबार

शीतलहरमा सवारी दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सवारी चालक र पैदलयात्रुलाई ११ वटा टिप्स दिएको छ । सवारी चालक तथा पैदल यात्रुले ध्यान पुर्याउन सके दुर्घटनाको कम गर्न सकिने ट्राफिकले बताएको छ ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालय रामशाहपथका प्रवक्ता एसपी नरेशराज सुवेदीले शीतलहरसँगै पछिल्लो समय धेरै गुनासो आएको बताए । ‘बिहान र बेलुकाको समयमा सवारी साधन अनियन्त्रित हुने, सवारी चलाउँदा मोबाइल चलाउने, सडकमै पार्किङ गर्नेजस्ता थुप्रै गुनासो आएका छन्,’ एसपी सुवेदीले भने, ‘त्यसैले यस्तो समयमा दुर्घटना न्यूनीकरणका लागि पूर्वतयारी र सडकमा सावधानीपूर्वक सवारी हाँक्नुपर्छ ।’

यस्ता छन् ट्राफिकका टिप्स

१. सवारीसाधन चलाउनुअघि गाडीको अवस्था कस्तो छ, जाँच गर्नुपर्छ । गाडीको वाइपर, हेडलाइट, ब्रेकको अवस्था कस्तो छ, ठिकसँग काम गर्छ कि गर्दैन यकिन गर्नुपर्छ ।

२. शीतलहरले सडकको सतह चिप्लो हुने र ब्रेक कम लाग्दा सवारी अनियन्त्रित हुने भएकाले सामान्य अवस्थामा भन्दा अझ बढी ब्रेकिङ डिस्ट्यान्स राखी गाडी चलाउनुपर्छ ।

३. सवारीको गति नियन्त्रित र सीमित हुनुका साथै सडकको घुम्ती तथा मोडहरूमा हर्नको प्रयोग गर्नुपर्छ ।

४. सवारी चलाउँदा चालकले आफ्नो ध्यान सडक, सवारी र यात्रुमा केन्द्रित गर्नुपर्छ । मोबाइल फोनको प्रयोग गरेर सवारी साधन चलाउनु हुँदैन ।

५. सडकको भिजिबिलिटी कम भएको अवस्थामा फग लाइटको प्रयोग गर्नुपर्छ ।

६. सडकमा जथाभावी पार्किङ गरेर सवारी साधन छोड्नुहुँदैन । बिग्रेका गाडीलाई सडकमा नछोडी सुरक्षित स्थानमा लगेर राख्नुपर्छ ।

७. मोटरसाइकल चलाउँदा सकेसम्म सेतो, टल्कने ज्याकेट प्रयोग गर्नुपर्छ ।

८. सडक क्षेत्र प्रयोग गरेर साँझ र बिहानको समयमा हिँड्नु हुँदैन ।

९. पैदलयात्रा गर्दा उपलब्ध भएसम्म फुटपाथ तथा आकासेपुलको प्रयोग गर्नुपर्छ । जेब्राक्रसिङबाट मात्र बाटो काट्नुपर्छ । फुटपाथ नभए सडकको दाहिने किनाराको प्रयोग गरी सावधानीपूर्वक हिड्नुपर्छ ।

१०. सडकमा मर्मत भइरहेको छ भने स्पष्ट रुपमा देखिने गरी सूचनाबोर्ड राख्नुपर्छ ।

११. ‘छिटो गए भन्न सकिन्न विस्तारै गए अवश्य पुगिन्छ’ भन्दै ट्राफिक नियम आफ्नै सुरक्षाको लागि हो, भन्ने कुरा हरबखत मनमा राखेर यात्रा गर्नुपर्छ ।

प्रकाशित मिति : २०८२ मंसिर २४ गते बुधबार