नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीले महिलामाथि राजनीतिक हिंसा गरेको आरोप लगाएकी छन् । पूर्वराष्ट्रपति विद्या भण्डारीप्रति अपमानजनक शब्द प्रयोग गर्दै समग्र महिलाकै अपमान गरेको आरोप लगाएकी हुन् । आगामी महाधिवेशनमा अध्यक्षको प्रत्याशी रहेका ईश्वर पोखरेल समूहले मंगलबार काठमाडौँमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले यस्तो आरोप लगाएकी हुन् ।
‘एउटा महिलालाई कसरी सम्मान गर्नुपर्छ भन्नेबाट कुरा सुरु गर्नुपर्छ’, उनले पुष्पलाल र दुर्गादेवीको स्मरण गर्दै त्यही हौसलाले महिलाहरू एमालेको राजनीतिमा लागेको बताइन् । उनले सामाजिक रूपान्तरणमा योगमायादेखि साहाना प्रधानसम्मको योगदानले अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएको बताइन् । उपाध्यक्ष शाक्यले संघीय लोकतान्त्रिक गणतन्त्रका पटक–पटक प्रधानमन्त्री भइसकेका ओलीले महिलाहरुप्रति अपमान गर्ने गरेको बताइन् ।
महिला नेतृहरुको अन्तर संवाद कार्यक्रममा बोल्दै ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे प्रयोग गरेको शब्द चयन अनुचित भएको उनले बताएकी हुन् । उनले भनिन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको पटक पटक प्रधानमन्त्री भएका हाम्रो अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति, देशको संरक्षक, संविधानको संरक्षक विद्यादेवी भण्डारीलाई गरेको सम्मान यही हो ? धामी–झाँक्री भनेको के हो ? यस्तो अपमान गर्न पाइन्छ ?’
उनले अनुसार यस्तो अभिव्यक्ति पार्टी नेतृत्वबाट आउनु भनेको महिलाप्रति नकारात्मक दृष्टिकोणको अभिव्यक्ति हो । ‘महिलालाई अपमानित गर्ने व्यवहार नेतृत्वलाई सुहाउने कुरा होइन,’ उनले भनिन् । उनले नेतृत्वले महिलालाई अपमान गरेको गरेको भन्दै यो विद्याको मात्र अपमान नभएर समग्र महिलाकै अपमान भएको बताइन् । अव एमालेमा महिलालाई अपमान गर्ने नेतृत्व आवश्यक नभएको शाक्यको भनाइ छ ।
एमाले अध्यक्ष ओलीले केही समयअघि एक मिडियासँगको कुराकानीमा भण्डारीप्रति लक्षित गर्दै ‘धामीले जस्तो ढ्याङ ढ्याङ पार्दै अध्यक्ष छोड् भन्दै आउने’ भनेर प्रश्न गरेका थिए । शाक्यले नेतृत्वमा रहने मान्छेले यस्तो अभिव्यक्ति दिन नसुहाउने भए पनि ओलीले त्यही गरिरहेको र महिलाप्रतिको दृष्टिकोण नै खराब रहेको आरोप लगाइन् ।
‘यो हद नेतृत्वलाई सुहाउँदैन, यो नेतृत्वले गर्न नै हुँदैन तर, गर्न हुन्छ, कसले गर्न हुन्छ ?’ एउटा सामान्य महिलालाई त पाइँदैन भने पूर्वराष्ट्रपति भएको महिलालाई अपमान गर्न यो नेतृत्वलाई सुहाउँदैन । तर गर्नुहुन्छ कसले भने केपी कमरेडले गर्नुहुन्छ । किनभने उहाँको सोचै छैन । महिलाप्रति हेर्ने दृष्टिकोण नै छैन । महिलालाई अपमान गरेको गर्यै छ,’ उनले भनिन् ।
पछिल्ला चार वर्षदेखि एमालेको केन्द्रिय सदस्यको रूपमा निरन्तर सक्रिय रहँदै आएकी उषाकिरण तिमल्सिनाले पार्टीभित्र अभिव्यक्ति तथा सहभागिताको मौलिक अधिकारमाथि प्रश्न उठाएकी छन् । उनले केन्द्रिय समितिका बैठकहरु मात्र केही नेताहरुको मनपरी बोल्ने स्थान बनेको गम्भीर आरोप पनि लगाएकी हुन् ।
उनले भनिन्, ‘म विगत चार वर्ष केन्द्रिय सदस्य हुँदा पार्टीभित्र बोल्न पाएको समय जम्मा ६ मिनेट हो । दुई चोटीको बैठकमा एक पटक तीन मिनेट र अर्को पटक तीन मिनेट ।’ उनले लोकतन्त्र र गणतन्त्रमा पार्टीभित्र बोल्ने ठाँउ नै नहुने भन्दै यसमा परिवर्तन गर्न जरुरी रहेको बताइन् । उनले भनिन्, ‘हामीले ल्याएको लोकतन्त्र, गणतन्त्र त्यो खालको होइन नी । पार्टीभित्र बोल्ने ठाँउ कहाँ छ त ? केन्द्रिय कमिटिको बैठक केही निश्चत नेताहरुको घण्टौ मनपरी बोल्ने ठाँउको रुपमा प्रयोग भएको छ । यसमा परिवर्तन गर्न जरुरी छ ।’
उनका अनुसार अहिले निर्णय गर्ने र नेतृत्व निर्धारण गर्ने अधिकार सिमित मान्छेमा मात्रै केन्द्रित भएका छन् । कार्यक्रममा स्थायी कमिटी सदस्य डा.विन्दा पाण्डे, शर्मिला कार्की, रचना खड्का लगायतका नेतृहरूले आफ्नो धारणा राखे । उनीहरुले महाधिवेशनमार्फत एमालेको नेतृत्व परिवर्तन गर्न र पार्टीलाई लोकतान्त्रिक पद्धतिमा हिँडाउन आग्रह गरे ।
सत्यपाटी