२०८२ माघ ६ , मंगलबार 20, January 2026, Tuesday

पिथौरागढमा नेपाल-भारत संयुक्त सैन्य अभ्यास

सत्यपाटीसत्यपाटी । पिथौरागढ । २०८२ मंसिर २३ गते मंगलबार

नेपाली सेना र भारतीय सेनाका फौज सहभागी भएको संयुक्त सैनिक अभ्यास ‘सूर्य किरण’को १९ औं संस्करण पूरा भएको छ । भारतको पिथौरागढमा मंसिर ९ गतेदेखि सञ्चालन भएको अभ्यास २०८२ मंसिर २२ गते औपचारिक रूपमा समापन भएको छ ।

अभ्यास ‘सूर्य किरण’मा विपद् व्यवस्थापन, प्रतिविद्रोह, प्रतिआतंकवाद, जंगल युद्धकला र मानवीय सहयोग लगायतका विविध महत्वपूर्ण विषयहरू समावेश गरिएका थिए । अभ्यासको निरीक्षणका लागि नेपाली सेनाको तर्फबाट उपरथी अनुपजङ्ग थापाले अवलोकन टीमको नेतृत्व गर्दै सहभागिता जनाएका थिए ।

संयुक्त सैन्य अभ्यास विक्रम संवत् २०६७ सालदेखि नेपाल र भारतमा आलोपालो सञ्चालन हुँदै आएको छ । नेपाली सेनाले संयुक्त सैनिक अभ्यासहरूले मित्रराष्ट्रहरू बिचको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिएको छ । यस्ता अभ्यासहरूले सकलदर्जामा पेशागत सीपको विकास र आपसी समझदारीमा अभिवृद्धि हुने सेनाको भनाइ छ ।

सेनाले आफ्नो क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिका, बेलायत, चीन, पाकिस्तान, भारत लगायतका मित्रराष्ट्रहरूका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं पेशागत प्रतियोगिताहरूमा नियमित रूपमा सहभागिता जनाउँदै आइरहेको छ ।

प्रकाशित मिति : २०८२ मंसिर २३ गते मंगलबार