२०८२ माघ ८ , बिहीबार 23, January 2026, Friday

डडेलधुराबाट फेरि चुनाव लड्न तम्सिए देउवा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर २३ गते मंगलबार

जेनजी आन्दोलनमा नाति पुस्ताबाट कुटाई खाएपछि सक्रिय राजनीतिबाट विश्राम लिने तयारी गरिरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा डडेलधुराबाट नै अन्तिमपटक उम्मेदवारी दिने घोषणा गरेका छन् ।

केही समयदेखि उनी चुनाव नलड्ने सम्भावना जस्ता अड्कलबाजीहरू चलिरहेको अवस्थामै देउवाले पहिलोपटक खुलेर आफ्नो निर्णय सार्वजनिक गरे, जुन अप्रत्याशित जस्तै सुनियो । उनले यो नै आफ्नो राजनीतिक यात्राको अन्तिम निर्वाचन हुने स्पष्ट पार्दै क्षेत्रवासीसँग सहयोग र साथको अपेक्षा व्यक्त गरे ।

महाराजगन्जस्थित निवासमा डडेलधुराका युवा नेता तथा नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टसँग भएको भेटमा देउवाले लामो समयदेखि प्रतिनिधित्व गर्दै आएको डडेलधुरामै पुनः प्रतिस्पर्धामा उभिन चाहेको बताए । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा देउवा डडेलधुराबाट अन्तिम पटक उम्मेदवार बन्ने तयारीमा रहेका छन् ।

२०४८ सालदेखि लगातार डडेलधुराबाट निर्वाचन जित्दै आएका देउवाले यसपटक ‘अन्तिम प्रतिस्पर्धा’ गर्ने संकेत गरेका हुन् । भेटपछि भट्टले बताए अनुसार, पार्टीभित्र नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउनुपर्ने धारणा राख्दै आएका देउवाले पछिल्ला राजनीतिक परिस्थितिले आफूलाई अझ एकपटक चुनावी मैदानमा उत्रिन प्रेरित गरेको बताए ।

भट्टले आफ्नो प्रतिक्रिया सुनाउँदा उनले देउवालाई ‘उठ्ने–नउठ्ने निर्णय तपाईंले नै गर्नुहोस्’ भनेको बताए । कांग्रेस केन्द्रीय कार्यालयले मंसिर मसान्तभित्र उम्मेदवार सिफारिस बुझाउन मातहतका संरचनालाई निर्देशन दिएपछि डडेलधुरा जिल्लामा देउवाको नाम सिफारिस गर्ने तयारी तीव्र बनेको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पठाएको परिपत्र अनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट दुई पुरुष र एक महिला गरी तीन जनाको नाम सिफारिस गर्नुपर्नेछ । नेपाली कांग्रेस डडेलधुराका सभापति भीमबहादुर साउदका अनुसार स्थानीय नेता–कार्यकर्ता र जिल्लावासीको प्राथमिक चाहना देउवाले फेरि एक पटक निर्वाचन लडून भन्ने छ ।

‘पार्टीका साथीहरू र जनताको आग्रह सभापतिज्यूलाई भेटेर राखेका छौँ । उहाँ सकारात्मक हुनुहुन्छ,’ साउदले बताए । उम्मेदवार सिफारिसका लागि मंसिर २४ गते जिल्ला कार्यसमिति बैठक बस्ने र त्यसभित्र देउवाको नाम सिफारिस गर्ने तयारी गरिएको साउदले जानकारी दिए ।

केन्द्रीय सदस्य भट्टका अनुसार मंगलबार बिहान भेटमा देउवाले ‘अन्तिम पटक प्रतिस्पर्धामा उत्रिने’ तयारी गरेको स्पष्ट बताएका थिए । देउवा २०४८ सालदेखि आजसम्म भएका सातै संसदीय निर्वाचनमा डडेलधुराबाट विजयी हुँदै आएका अनुभवशाली नेता हुन् । यही क्षेत्रबाट निर्वाचित भएर उनी पाँच पटक प्रधानमन्त्री बनिसकेका छन् ।

देउवा २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा डडेलधुराबाट निर्वाचित भएका छन् । २०४६ सालको जनआन्दोलनपछिका सबै निर्वाचनमा प्रतिस्पर्धा गरेर निरन्तर विजयी हुने उनी एकमात्र नेता हुन् । सात पटक निर्वाचित देउवा यसपटक आठौँ पटक निर्वाचनमा उत्रिन लागेका हुन् ।

प्रकाशित मिति : २०८२ मंसिर २३ गते मंगलबार