२०८२ माघ ६ , मंगलबार 20, January 2026, Tuesday

महावै गाउँपालिकामा साढे २३ करोड बेरुजु, असुल गर्नुपर्ने ७० लाख

सत्यपाटीसत्यपाटी । कालीकोट । २०८२ मंसिर २३ गते मंगलबार

कालीकोट जिल्लाको महावै गाउँपालिकाले एक आर्थिक वर्षमा करिब ७० लाख रकम हचुवाको तालमा वितरण गरेको पाइएको छ । गाउँपालिकाले विभिन्न शीर्षकमा भुक्तानी गरेको रकममध्ये ६९ लाख ८१ हजार ५०४ रुपैयाँ असुल पर गर्नुपर्नेछ । महालेखाले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०–०८१ को लेखा परिक्षण प्रतिवेदनमा उक्त रकम असुलउपर गर्न भनेको छ ।

असुलका लागि गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहबाट एक लाख, नमराज मल्लबाट एक लाख, दीपक खत्रीबाट ५० हजार र चालक केदार सिहंबाट ३० हजार ९५० इन्धनको नाममा कुनै प्रमाण नराखी भुक्तानी भएकाले असुलउपर गर्न महालेखाले व्यक्तिको नाम किटान गरेको छ । गाउँपालिकाले विभिन्न योजनाको नाममा पनि प्रमाण बिना भुक्तानी गरेको छ ।

प्रमाण बिनाको दुई करोड ४३ लाख ६५ हजार २६१ रुपैयाँ अनियमित भएको महालेखाले उल्लेख गरेको छ । गाउँपालिकाले सुर्खेतको स्टे भ्याली प्रालि सुर्खेतको बिजक प्रयोग गरी कमलबहादुर सिहंको नाममा पाँच लाख भुक्तानी गरेको छ । उक्त रकम असुलउपर गर्न भनिएको छ ।

आर्थिक कार्यविधि तथा उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ को ५ अनुसार सरकारी रकम खर्च गर्दा पुष्टि हुने गरी बिल भरपाई तथा आवश्यक सम्झौता लगायत कागजपत्र राख्नु पर्ने हुन्छ । तर गाउँपालिकाले हचुवाको भरमा व्यक्तिका नाममा भुक्तानी दिँदै आएको छ ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्यहरूले गाउँपालिकादेखि मान्मसम्म आएको ९४ हजारसम्म भ्रमण खर्च बुझेका छन् । जहाँ महावैबाट मान्म पुग्न सिंधै गाडीको पहुँच छैन, सेरावाडादेखि सार्वजनिक यातायात चढेमा ५०० बढीमा भाडा लाग्छ, गाडी रिजर्व गरेमा सात हजारसम्म हो । तर ९४ हजारसम्म महावै मान्मको भ्रमण खर्च बुझेको महालेखाले औलाएको छ ।

विभिन्न व्यक्तिले मान्म सदरमुकाम आएको खर्च तीन लाख पाँच हजार ५७० रुपैयाँ तिनै व्यक्तिबाट असुलउपर गर्न भनिएको छ । दुई पाङ्ग्रे र चार पाङ्ग गाडीमा इन्धन हालेको २२ लाख ८३ हजार २९१ खर्च छ भने सार्वजनिक गाडी भाडामा लिएर चढेको यातायात खर्च शीर्षकमा ३६ लाख ८३ हजार ५० खर्च र गाडी मर्मतमा नौं लाख ६५ हजार ९२२ रुपैयाँ खर्च गरिएको छ ।

विविध शीर्षकमा ५५ लाख ८३ हजार ४९८ रुपैयाँ खर्च गरिएको छ । एक आर्थिक वर्षमा गाडी, यातायात मर्मत तथा विविधमा मात्र एक करोड, २५ लाख १५ हजार ७६१ रुपैयाँ खर्च फजुलमा गरेको छ । गाउँपालिकाको हालसम्म २३ करोड ४९ लाख १५ हजार ४७८ रुपैयाँ जम्मा बेरुजु देखिएको छ ।

प्रकाशित मिति : २०८२ मंसिर २३ गते मंगलबार