२०८२ माघ ८ , बिहीबार 23, January 2026, Friday

पोखरा विमानस्थल प्रकरणमा मुछिएका को को हुन् ५५ जना ? (विवरणसहित)

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर २२ गते सोमबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढिलै भए पनि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा मुद्धा चलाएको छ । अख्तियारले विशेष अदालतमा आइतबार एकै पटक पाँच पूर्वमन्त्री, पूर्वसचिवहरूसहित ५५ जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरूमाथि आठ अर्बमाथिको मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्धा चलाएकाहरूमा दिवंगतदेखि जीवितसम्मका परेका छन् । पूर्वमन्त्रीहरू पोस्टबहादुर बोगटी (दिवंगत), अल्जाइमरले थलिएका डा रामशरण महत, दीपक अमात्य, रामकुमार श्रेष्ठ र भीम आचार्यसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारी पनि प्रतिवादी हुन् ।

दुवै जना नलिन्चोक हेलिपोर्ट निर्माण अनियमितताका पनि प्रतिवादी हुन् । हेलिपोर्ट निर्माणसम्बन्धी मुद्दामा आइतबार थुनछेक बहस चलिरहेका बेलामा आइतबार नै उनीहरूविरुद्ध अर्को मुद्दा दायर भएको हो । अधिकारीलाई अदालतले धरौटीमा रिहा गर्नसमेत मानेन । त्यस्तै सर्वोच्च अदालतका पूर्वरजिस्ट्रारसमेत रहेका विमानस्थल निर्माणसम्बन्धी अध्ययन कार्यदलका तत्कालीन संयोजक रामकृष्ण तिमल्सेना, सुरेशमान श्रेष्ठ, मधुकुमार मरासिनी लगायत १० पूर्वसचिवहरूलाई पनि प्रतिवादी बनाइएको छ ।

अख्तियारले जारी गरेको विज्ञप्तिअनुसार प्रतिवादी सबैलाई एउटै बिगो कायम गरेर मुद्दा दायर गरिएको छ । पोखरा विमानस्थल चीनको ऋण सहयोगमा बनाइएको राष्ट्रिय गौरवको आयोजना थियो । जसलाई चिनियाँ प्रतिनिधिहरूले पटक पटक बीआरआई अन्तर्गत बनेको भनी प्रचार गरिरहेका छन् । जबकि बीआरआई अन्तर्गत अहिलेसम्म नेपालले कुनै पनि काम गरेको छैन ।

चीनबाट दुई प्रतिशत ब्याजदरमा २२ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण प्राप्त हुने भएपछि सरकार र नागरिक उड्डयन प्राधिकरणबिच २०७३ जेठ २३ मा सम्झौता भएको थियो । सरकारले प्राप्त गरेको सो ऋण नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राप्त गरेर निर्माण सम्पन्न भएपछि सात वर्षसम्म दुई प्रतिशतका दरले ब्याज मात्र तिर्ने उल्लेख छ ।

२०६५ सालदेखि अध्ययन सुरु गरेर २०७९ सालमा निर्माण सम्पन्न भएको यो विमानस्थल घोटाला प्रकरणमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले २०८२ वैशाखमा दिएको प्रतिवेदनमा अख्तियारलाई छानबिनका लागि सिफारिससमेत गरेको थियो ।

उपसमितिले विमानस्थल निर्माणमा करिब १० अर्ब भ्रष्टाचार भएको दाबीसहित प्रतिवेदन समितिलाई बुझाएको थियो । समितिले प्रतिवेदन बुझाएको सात महिनापछि अख्तियारले आइतबार अनुसन्धान टुंग्याएर अदालतमा मुद्दा दायर गरेको हो। र पनि दुई अर्ब भने कममा मुद्धा दर्ता भएको छ ।

यी हुन् मुद्दामा विपक्षी बनाइएका चर्चित अनुहार

  • तत्कालीन मन्त्रीहरू : डा. रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्य ।
  • तत्कालीन सचिवहरू : सचिवहरू मधु मरासिनी, सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमनप्रसाद शर्मा, भेषराज शर्मा ।
  • तत्कालीन सहसचिवहरू : रञ्जनकृष्ण अर्याल, मोहनकृष्ण सापकोटा, लोकबहादुर खत्री र सुरेश आचार्य ।
  • सञ्चालक समिति सदस्य मनरूप शाही, नागरिक उड्डयन प्राधिकरणका सदस्य ज्योति अधिकारी, वायु सेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्की, फुर्वाछिरिङ शेर्पा, सदस्य–सचिव मदन खरेल, मुक्तिनारायण पौडेल, सूर्यप्रसाद आचार्य ।
  • रतिशचन्द्रलाल सुमन, तत्कालीन उपमहानिर्देशक सुमनकुमार श्रेष्ठ, उपसचिव हरिबहादुर खड्का, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपमहानिर्देशक रोशन चित्रकार, उपमहानिर्देशक ऋषिकेश शर्मा, उपनिर्देशक नारायण गिरी, उपनिर्देशक महेशकुमार बस्नेत, निर्देशक बाबुराम पौडेल, उपनिर्देशक अशोककुमार सुवेदी, प्रबन्धक मुरारी भण्डारी र उपनिर्देशक सुवर्णराज उपाध्याय ।

यस्तो छ मुद्दा खेप्नेहरूको पूर्ण विवरण

Skip to PDF content
प्रकाशित मिति : २०८२ मंसिर २२ गते सोमबार